ललितपुर — संघको १९औं वार्षिक साधारण सभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा उद्योग, व्यापार, हस्तकला तथा निर्यात क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर श्री मञ्जली शाक्य बज्राचार्यज्यूले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर मंजलीज्यूले स्थानीय उद्योग, व्यापार तथा हस्तकलाको प्रवर्द्धनमा संघले खेलेको भूमिकाको प्रशंसा गर्दै महानगरपालिकाको तर्फबाट सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभामा संघका अध्यक्ष श्री प्रदीप बज्राचार्यज्यूले अध्यक्षीय मन्तव्य राख्दै संघका वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, हालसम्म हासिल गरिएका उपलब्धि तथा आगामी दिनमा अघि बढाइने योजना र कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले सदस्यहरूको सक्रिय सहभागिताले नै संघलाई थप सबल बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मन्तव्य राख्दै उद्योग, व्यापार तथा हस्तकला क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभयो। मन्तव्य दिने व्यक्तित्वहरूमा—
- ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री विश्वराज बज्राचार्यज्यू,
- नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यज्यू,
- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी अधिकृत श्री शरद विक्रम राणाज्यू रहनुभएको थियो।
वक्ताहरूले स्थानीय उत्पादनको बजारीकरण, निर्यात प्रवर्द्धन तथा हस्तकलाको संरक्षण र प्रवर्द्धनमा नीतिगत सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
यसै अवसरमा प्रमुख अतिथि उपमेयर श्री मञ्जली शाक्य बज्राचार्यज्यू, वरिष्ठ कलाकार श्री रविन्द्र शाक्यज्यूलाई सम्मान प्रदान गर्दै उहाँको कला र संस्कृतिप्रतिको योगदानको उच्च कदर गर्नुभयो। साथै कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष श्री प्रदीप बज्राचार्यज्यूले प्रमुख अतिथि उपमेयर श्री मञ्जली शाक्य बज्राचार्य ज्यूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव श्री कपिल शाक्यज्यूले गर्नुभएको थियो।
