
ललितपुर । ललितपुर महानगरपालिकाले स्वास्थ्य सहायक, कम्प्युटर अपरेटर, तामेलदार तथा सवारी चालकसहित विभिन्न पाँच पदमा ३१ जना कर्मचारी करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ।
महानगरपालिकाले असार २६ गते सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। आवेदन दिने अन्तिम मिति साउन ८ गते तोकिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने जनाइएको छ।
महानगरपालिकाका अनुसार पाँचौँ तहको हेल्थ असिस्टेन्ट पदमा ६ जना, कम्प्युटर अपरेटर पदमा ५ जना, चौथो तहको तामेलदार पदमा २ जना, तहविहीन हेभी सवारी चालक पदमा ४ जना तथा तहविहीन हलुका सवारी चालक पदमा १४ जना गरी कुल ३१ जनाको माग गरिएको छ। हेल्थ असिस्टेन्ट पद महानगरपालिकाबाट सञ्चालन भइरहेको चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाका लागि माग गरिएको हो।
हेल्थ असिस्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आकस्मिक चिकित्सकीय प्राविधिक तालिम प्राप्त स्वास्थ्यकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। साथै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता वा नवीकरण भएको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
कम्प्युटर अपरेटर पदका लागि कम्प्युटर विषयसहित प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्य विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले भने मान्यता प्राप्त संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम लिएको हुनुपर्नेछ।
तामेलदार पदका लागि एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। हेभी सवारी चालकका लागि सामान्य लेखपढ गर्न सक्ने, हेभी सवारी चालक अनुमतिपत्र प्राप्त गरेको तथा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक रहेको छ। हलुका सवारी चालक पदका लागि पनि सामान्य लेखपढ गर्न सक्ने, ‘एफ’ वर्गको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र कम्तीमा पाँच वर्षको अनुभव अनिवार्य गरिएको छ।
आवेदन दिने उम्मेदवारले अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा गरेको हुनुपर्नेछ। पुरुष उम्मेदवारको उमेर ३५ वर्ष र महिला उम्मेदवारको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
पाँचौँ तहका पदका लागि ७०० रुपैयाँ तथा चौथो तह र तहविहीन पदका लागि ५०० रुपैयाँ आवेदन दस्तुर तोकिएको छ। समावेशी समूहमा थप आवेदन दिने उम्मेदवारले प्रत्येक अतिरिक्त समूहका लागि १५० रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ। आवेदन दस्तुर महानगरपालिकाले तोकेको नेपाल बैंक लिमिटेडको राजस्व खातामा जम्मा गरी सक्कल भौचर वा नगदी रसिद आवेदनसँग संलग्न गर्नुपर्नेछ।
आवेदनसँग भरिएको आवेदन फाराम, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको तीन प्रति फोटो, चालक पदका लागि सवारी चालक अनुमतिपत्र, हेल्थ असिस्टेन्टका लागि स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता वा नवीकरण भएको प्रमाणपत्र तथा सम्बन्धित तालिम र कार्यअनुभवका प्रमाणपत्रहरू पेस गर्नुपर्नेछ।
आवेदन फाराम ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुल्चोकमा बुझाउनुपर्नेछ। आवेदन फाराम तथा परीक्षाको पाठ्यक्रम महानगरपालिकाको वेबसाइटबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ।
छनोट प्रक्रियाअन्तर्गत हेल्थ असिस्टेन्ट र तामेलदार पदमा लिखित परीक्षा र अन्तर्वार्ता सञ्चालन गरिनेछ। कम्प्युटर अपरेटर पदमा लिखित, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुनेछ भने हेभी र हलुका सवारी चालक पदमा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट गरिनेछ। एउटा चरणमा सफल भएका उम्मेदवारलाई मात्र अर्को चरणमा सहभागी गराइने महानगरपालिकाले जनाएको छ। परीक्षा मिति र केन्द्र पछि सार्वजनिक गरिनेछ।
छनोट भएका कर्मचारीको करार अवधि २०८३ पुस मसान्तसम्म रहनेछ। तलब तथा अन्य सुविधा महानगरपालिकाको प्रचलित नियमअनुसार उपलब्ध गराइनेछ। साथै महानगरपालिकाका स्थायी बासिन्दा तथा सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ।
