नेपाली पत्रकारहरू भारतको नालन्दा खुला विश्वविद्यालयमा आयोजित कार्यक्रममा नालन्दा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

ललितपुर षौष २२-ः मातृभाषा पत्रकारिताको विकास र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली पत्रकारहरू भारतको नालन्दा खुला विश्वविद्यालयमा आयोजित कार्यक्रममा नालन्दा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा सम्पन्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनका अवसरमा सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले एभिन्यूज खबरका राजु नापित, सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठसहित १२ जना नेपाली पत्रकारलाई सम्मान गर्नुभएको हो।

आइतबारदेखि शनिबारसम्म चलेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा मातृभाषा पत्रकारिता, मानव अधिकार र सांस्कृतिक पहिचानलाई विश्वव्यापी मुद्दाको रूपमा लिएर व्यापक छलफल गरिएको थियो। सम्मेलनमा सार्क राष्ट्रका करिब २०० जना पत्रकारहरूको सहभागिता रहेको थियो।

सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहभागितामार्फत मातृभाषा, संस्कृति तथा पत्रकारिताको सुदृढीकरण गर्नु रहेको आयोजकले बताएका छन्। नेपाल, भारतलगायत विभिन्न देशहरूको संयुक्त सहभागितामा सम्पन्न यस सम्मेलनले आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

सार्क पत्रकार मञ्चद्वारा आयोजित कार्यक्रम बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा सम्पन्न भएको हो। सार्क पत्रकार मञ्च बिहारका अध्यक्ष तथा ह्युमन राइट्स टुडे का सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालबाट सार्क पत्रकार मञ्चकी अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सांस्कृतिक प्रसारक डा. सरिता बुद्धूको विशेष उपस्थिति रहेको थियो। साथै अध्यक्ष राजु लामा, थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रासहित करिब तीन दर्जन अन्तर्राष्ट्रिय पाहुनाहरू सहभागी थिए।

सम्मेलनको दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन गराइएको थियो। भ्रमणका क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा तथा प्राचीन गौरवबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन भएको बताउनुभयो। यसअघि विगत तीन वर्षमा वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

More From Author

१९औं वार्षिक साधारण सभा सम्पन्न

जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (JAFL) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ अन्तर्गत आठौं स्टोर तथा गोदाम सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *