
ललितपुर कार्तिक ७ गते -ः ललितपुरको पाटनमा ऐतिहासिक मानमानेश्वरी भवानीको पायो (खड्ग) जात्रा धार्मिक विधि, तान्त्रिक अनुष्ठान र परम्परागत संस्कारका साथ सम्पन्न भएको छ। दसैँको फूलपातीका दिन मुछेँस्थित आगमघरबाट मानमानेश्वरी भवानीलाई मूलचोकमा विराजमान गराएसँगै सुरु भएको जात्रा शनिबार त्रयोदशीका दिन देवीलाई पुनः आगमघरमा विराजमान गराएपछि सम्पन्न भएको हो।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले पुस्तौँदेखि चलिआएको यस जात्राले ललितपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको बताए।

“गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा हाम्रो महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सवका रूपमा यो जात्रा हरेक वर्ष हर्षोल्लासका साथ मनाइँदै आएको छ,” अध्यक्ष श्रेष्ठले भने।
उनका अनुसार ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यस जात्राले धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
मानमानेश्वरी पायो जात्रालाई लिच्छविकालदेखि चलिआएको प्राचीन खड्ग जात्राका रूपमा लिने गरिन्छ। परम्परागत मान्यताअनुसार यो जात्रा लिच्छवि राजा मानदेवकी आराध्यदेवी मानमानेश्वरी भवानीसँग सम्बन्धित छ। देवीलाई शक्तिपीठ तथा राजकीय देवीका रूपमा पूजा गर्ने परम्परा रहेको विश्वास गरिन्छ।
मानमानेश्वरी भवानीलाई दुर्गा–शक्ति परम्पराको शक्तिशाली तथा रक्षाकारी स्वरूपका रूपमा मानिन्छ। जात्रामा प्रयोग गरिने खड्गले देवीको शक्ति, राज्यको सुरक्षा, शत्रुमाथिको विजय र असत्यमाथि सत्यको विजयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। तीन खड्गलाई तीन लोक—आकाश, पृथ्वी र पातालमाथिको विजयसँग जोडेर व्याख्या गर्ने धार्मिक मान्यता पनि रहेको छ।
जात्राको मुख्य आकर्षण देवगण तथा गुठियारहरूले हातमा खड्ग बोकेर परम्परागत पोसाक र मुकुण्डो धारण गरी बाजागाजासहित सहर तथा बस्ती परिक्रमा गर्नु हो। यस क्रममा धार्मिक विधि, तान्त्रिक पूजा र परम्परागत सांस्कृतिक प्रस्तुतिले पाटनको पुरानो नगरजीवनलाई जीवन्त बनाउँछन्।
दसैँको फूलपातीका दिन मानमानेश्वरी भवानीलाई मुछेँस्थित आगमघरबाट मूलचोकमा विराजमान गराएपछि जात्रासम्बन्धी धार्मिक गतिविधि सुरु हुन्छन्। यस अवधिमा विभिन्न दिन विशेष पूजा, खड्ग जात्रा र देवगणको सहभागितामा परम्परागत अनुष्ठान सञ्चालन गरिन्छ।
नवमीका दिन ललितपुरको लगनखेलस्थित श्री महालक्ष्मी मन्दिरमा मानमानेश्वरीका तीन खड्ग लगेर तान्त्रिक शक्तिका रूपमा पूजा गर्ने विशिष्ट परम्परा छ। त्यहाँ वैदिक पूजासँगै तन्त्रविधि, मन्त्रोच्चार, यन्त्रपूजा, बलि तथा विशेष सामग्रीद्वारा देवीको आह्वान र आराधना गरिन्छ।
नवमीको राति गरिने उक्त अनुष्ठानपछि दशमीको बिहान तीनै खड्गलाई थसिमलः पायो जात्राका रूपमा मूलचोकमा पुनः भित्र्याइन्छ। यसले देवीको शक्ति, रक्षा र विजयसम्बन्धी धार्मिक विश्वासलाई थप प्रगाढ बनाउने मान्यता छ।
दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोसम्म जात्रा सञ्चालन गरी श्री भवानी र श्री नवदुर्गाबीच धार्मिक मिलन गराउने परम्परा छ। विजयादशमीका दिन ठेचोको गथु प्याखँ अर्थात् नवदुर्गा भवानीका देवगणले मानमानेश्वरी देवीको प्रतिमामा विजय उत्सवका रूपमा माल्यार्पण गरी मूलचोकमा नृत्य प्रस्तुत गर्ने प्रचलन छ।
यसैगरी, सिद्धिनरसिंह मल्लकालमा स्थापित मानिने अष्टमातृका गणनाच अर्थात् गँ प्याखँका देवगणले परम्परागत पोसाक र मुकुण्डो धारण गरी हातमा खड्ग बोकेर बाजागाजासहित बस्ती परिक्रमा गर्छन्। यी सांस्कृतिक गतिविधिले मानमानेश्वरी पायो जात्रालाई अन्य जात्रा तथा देवगण नाचसँग जोड्दै पाटनको समग्र सांस्कृतिक परम्परालाई जीवन्त राखेका छन्।
त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूलचोकबाट मुछेँस्थित आगमघरमा पुनः विराजमान गराएपछि यस वर्षको जात्रा विधिवत् रूपमा सम्पन्न भएको हो।
मानमानेश्वरी भवानीसँग सम्बन्धित पायो (खड्ग) जात्रा तथा नवदुर्गा नाच विगतमा करिब २४ वर्षसम्म बन्द भएको थियो। लामो समय रोकिएको परम्परालाई पुनः सञ्चालनमा ल्याउन गुठियार, संस्कृतिकर्मी तथा स्थानीय सरोकारवालाले निरन्तर पहल गरेका थिए।
सांस्कृतिक पुनर्जागरणको अभियानलाई अघि बढाउँदै नेवाः पत्रकार राष्ट्रिय दबू र ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व संरक्षण समितिले विसं २०७२ देखि जात्रा पुनः सञ्चालन तथा निरन्तरताका लागि सक्रिय पहल गर्दै आएको छ।
समितिको प्रयाससँगै गुठी संस्थान, प्रशासन र ललितपुर महानगरपालिकाको सामूहिक सहकार्यबाट जात्रा तथा सम्बन्धित सांस्कृतिक परम्पराले पुनः निरन्तरता पाएको हो। यसलाई स्थानीय समुदायको सांस्कृतिक अधिकार, धार्मिक आस्था र ऐतिहासिक सम्पदा संरक्षणको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
लामो समय रोकिएको जात्रा पुनः सञ्चालनमा आएपछि नयाँ पुस्तालाई पुर्खाले स्थापित गरेका धार्मिक विधि, नृत्य, बाजागाजा र सांस्कृतिक मान्यताबारे जानकारी गराउने अवसरसमेत प्राप्त भएको छ।
मानमानेश्वरी पायो जात्राले धार्मिक आस्था र परम्परालाई निरन्तरता दिनुका साथै गुठी प्रणाली, सामुदायिक एकता र पाटनको ऐतिहासिक पहिचानलाई पनि प्रतिबिम्बित गर्छ। खड्ग जात्रा, अष्टमातृका गणनाच, गथु प्याखँ तथा विभिन्न तान्त्रिक अनुष्ठानबीचको सम्बन्धले ललितपुरको सांस्कृतिक परम्पराको विशिष्टता उजागर गर्छ।
यस्ता जात्रा तथा पर्वको संरक्षणका लागि आर्थिक स्रोतको सुनिश्चितता, दक्ष जनशक्तिको विकास, नयाँ पुस्तालाई परम्परागत भाषा तथा विधिबारे प्रशिक्षण र सम्बन्धित निकायबीचको सहकार्य आवश्यक देखिन्छ।
२४ वर्षसम्म अवरुद्ध भएको परम्पराले पुनः निरन्तरता पाउनु सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण उदाहरण हो। अब यसको संरक्षणलाई केवल वार्षिक जात्रा सञ्चालनमा सीमित नराखी अभिलेखीकरण, अध्ययन, प्रशिक्षण र पुस्तान्तरणसँग जोड्न सके मानमानेश्वरी भवानीको पायो जात्रा भावी पुस्ताका लागि पनि जीवन्त सांस्कृतिक धरोहरका रूपमा स्थापित भइरहनेछ।
