ललितपुर, १५ फागुन । ललितपुरको बागमती गाउँपालिका–३ स्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई १०३ जोर जुत्ता तथा झोला हस्तान्तरण गरिएको छ। फेब्रुअरी २२ तारिखका दिन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विद्यालयमा अध्ययनरत १ सय ३ जना विद्यार्थीलाई जुत्ता तथा झोला प्रदान गरेको हो।
आर्थिक कठिनाइका कारण आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका तथा कल्याणकारी सेवाबाट वञ्चित परिवारका बालबालिकालाई व्यावहारिक सहयोग गर्ने उद्देश्यले सामग्री वितरण गरिएको समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार छिमेकीहरूमाझ परमेश्वरको प्रेम बाँड्ने भावनासहित सन्तहरू एउटै चित्त भएर तयारी गरी सहयोग गरिएको हो।
“हरेक परिवारका आफ्नै कठिनाइहरू भए पनि बालबालिकाहरू नयाँ जुत्ता लगाएर र नयाँ झोला भिरेर उज्यालो मुस्कुराउन सकून् भन्ने हाम्रो चाहना हो। हरेक घर हर्ष र खुसीले भरिपूर्ण होस् भन्ने कामना गर्दछौं,” उहाँले भन्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालले मण्डलीका सदस्यहरूको अथक परिश्रम र प्रेमपूर्वक गरिएको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानाध्यापक राम प्रसाद घिमिरेले विद्यालयलाई छनौट गरी विद्यार्थीहरूलाई सहयोग गरेकोमा धन्यवाद दिँदै प्रायः पुराना जुत्ता र झोला प्रयोग गर्न बाध्य बालबालिकाका लागि यो ठूलो उपहार भएको उल्लेख गर्नुभयो।
बागमती गाउँपालिका र विद्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नवराज खड्काले विद्यार्थीहरूका लागि अति आवश्यक सामग्री उपलब्ध गराएकोमा विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पालिकाभित्रका अन्य विद्यालयहरूमा पनि यस्ता सहयोग विस्तार हुने अपेक्षा गर्नुभयो।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वासीहरूले विश्वका विभिन्न स्थानमा निरन्तर सामाजिक सेवा गर्दै आएका छन्। नेपालमा पनि मण्डलीले भूकम्प प्रभावित क्षेत्रमा मर्मत सम्भार तथा नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विविध स्वयंसेवी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। गत वर्ष डिसेम्बरसम्म नेपालमा मात्र ५४ हजार १५३ जनाले ९८९ वटा सामाजिक योगदानका कार्यक्रम सम्पन्न गरेका छन्।
मानव कल्याणका यस्ता गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायहरूले प्रशंसा–पत्र र कदर–पत्र प्रदान गर्दै समर्थन जनाएका छन्।
मण्डलीले बागमती प्रदेशको काठमाडौं–कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरैँचा, लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगर लगायतका स्थानहरूमा वातावरण सरसफाइ अभियान सञ्चालन गरिसकेको छ। साथै स्थानीय समुदायमा रगतको अभाव पूर्ति गर्न नियमित रूपमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।

Congratulations and thank you for HMS24 news for posting truth news about social service
congratulations and thank you HMS24 news for posting actual news of social service