
ललितपुर असोज २४ -ः नेपाली परम्परागत मूर्तिकलालाई विश्वमञ्चमा चिनाउन अतुलनीय योगदान पुर्याउनुभएका नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार, ‘क्रोधकला शिरोमणि’ तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मानार्थ प्राज्ञ स्वर्गीय कालु कुमाले कुम्हाःको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, बागमती प्रदेश हस्तकला संघ, नेपाल व्यावसायिक कलाकार संघ, पाटन संग्रहालय विकास समिति, नेपाल कला परिषद्, ज्यापू समाज ललितपुर र नेपाल सम्पदा संघको संयुक्त आयोजनामा शनिबार ललितपुरमा शोकसभा सम्पन्न भएको हो।
शोकसभामा स्वर्गीय कुमालेको तस्बिरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरेका थिए। कार्यक्रममा वक्ताहरूले नेपाली परम्परागत कला, विशेषगरी धातु मूर्तिकलाको विकास, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानमा स्वर्गीय कुमालेले पुर्याउनुभएको योगदानको स्मरण गरे।

शोकसभामा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य आस्था, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, कमर्शियल आर्टिस्ट एसोसिएसन नेपालका अध्यक्ष प्रेम श्रेष्ठ, पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल, नेपाल सम्पदा संघका अध्यक्ष धर्मराज शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन तथा स्वर्गीय कुमालेका निकट सहयोगी एवं साइँला छोरा मूर्तिकार राकेश अवालेले मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले स्वर्गीय कुमालेको सिर्जनात्मक क्षमता, साधना, निष्ठा र नेपाली परम्परागत मूर्तिकलाप्रतिको समर्पणको चर्चा गर्दै उहाँका कलाकृतिले नेपालको मौलिक कला र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँको निधनले नेपाली मूर्तिकला क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा स्वर्गीय कुमालेका छोरा राजेश अवाले, छोरीहरू पुनमाया र सोभासहित परिवारका सदस्य, बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्य, ललितकलासँग सम्बन्धित कलाकार, कलाप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
शोकसभाका क्रममा स्वर्गीय कालु कुमालेको कला योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान गरिएको जानकारी दिइयो। इन्फिनिटी सर्भिस संस्थाका तर्फबाट उहाँलाई आगामी नोभेम्बर १ तारिखमा मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने जानकारी कार्यक्रममा गराइएको थियो।
यसैगरी, अल इण्डिया हरिसिंह भाटी आर्ट एण्ड एजुकेशन ट्रष्टले स्वर्गीय कुमालेलाई मरणोपरान्त प्रदान गरेको ‘विश्व कलारत्नश्री’ सम्मानपत्र हस्तान्तरण गरिएको थियो। उक्त सम्मानपत्रले उहाँको कलात्मक योगदान र अन्तर्राष्ट्रिय पहिचानलाई थप उजागर गरेको छ।
कार्यक्रममा लोककवि जकःमिले स्वर्गीय कुमालेको जीवन र योगदानलाई समेटेर नेपालभाषामा कविता प्रस्तुत गर्नुभएको थियो। उहाँको कविताले नेपाली परम्परागत कलाको क्षेत्रमा कुमालेले पुर्याउनुभएको योगदानप्रति श्रद्धा व्यक्त गरेको थियो।
वि.सं. १९९० जेठ २७ गते ललितपुरको ऐतिहासिक ओकुबाहलमा जन्मनुभएका कालु कुमालेको ९४ वर्षको उमेरमा वि.सं. २०८३ असोज ६ गते निधन भएको थियो। स्वभावले शान्त भए पनि रौद्र भावका क्रोधमुद्रायुक्त मूर्ति निर्माणमा असाधारण दक्षता हासिल गर्नुभएका उहाँले नेपाली परम्परागत मूर्तिकलालाई विश्वमञ्चमा चिनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो।

उहाँका कलाकृति वि.सं. २०१८ सालमै बेलायतको विश्वप्रसिद्ध भिक्टोरिया एन्ड अल्बर्ट म्युजियमसम्म पुगेका थिए। जीवनकालमा ६०० भन्दा बढी उत्कृष्ट मूर्ति सिर्जना गर्नुभएका उहाँका कलाकृति विश्वका ५५ भन्दा बढी राष्ट्रमा पुगेको बताइन्छ। यसले नेपाली मूर्तिकलाको मौलिकता, प्राविधिक दक्षता र सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन योगदान पुर्याएको छ।
चतुर्भुज भैरव, वाराही, गणेश भैरव, अष्टमातृकागण, वज्र तथा नागदेवताका विभिन्न मूर्ति उहाँका चर्चित सिर्जनामध्ये पर्छन्। अर्घौं दरबारमा रहेको २१ फिट अग्लो भगवतीको मूर्ति र पाटन दरबार संग्रहालयमा रहेको साढे ६ फिट अग्लो वाराही जोगिनीको मूर्तिलाई उहाँका उत्कृष्ट कलाकृतिका रूपमा लिइन्छ।

धार्मिक आस्था, परम्परागत शिल्पज्ञान र सूक्ष्म कलात्मक अभिव्यक्तिलाई मूर्तरूप दिन सक्ने क्षमताका कारण उहाँ नेपाली मूर्तिकलाको क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल हुनुभएको थियो। उहाँका सिर्जनाले मूर्तिकलालाई केवल धार्मिक प्रतिमाको निर्माणमा सीमित नराखी नेपाली सभ्यता, इतिहास र सांस्कृतिक पहिचानको जीवन्त अभिलेखका रूपमा स्थापित गर्न सहयोग पुर्याएका छन्।
स्वर्गीय कुमालेको कलात्मक योगदानबारे वि.सं. २०३० सालमै विश्वविख्यात लेखकद्वय इयान इसप र जिल्लि कार्ल्टनले त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित मुखपत्रमा विशेष लेख प्रकाशन गरेका थिए। उहाँको जीवन र कला यात्राबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो व्यक्त हुँदै आएको यसले देखाउँछ।

इन्स्टिच्युट फर सोसियो एन्ड एनालाइसिस संस्थाद्वारा तयार पारिएको उहाँको जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’ वि.सं. २०७९ सालमा तत्कालीन उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट विमोचन भएको थियो। उक्त पुस्तकमा उहाँको संघर्ष, साधना, कलाकर्म र जीवनदर्शनलाई समेटिएको छ।
पुस्तकमा उल्लेख भएअनुसार स्वर्गीय कुमाले निष्ठा, धैर्य र इमानदारीलाई सफलताको मूल मन्त्र मान्नुहुन्थ्यो। उहाँले कामप्रतिको समर्पण र कर्मको नैतिक मूल्यलाई जीवनको महत्त्वपूर्ण आधारका रूपमा लिनुभएको थियो। “हातमा काम लिई भगवानको नाम जप्दै मर्न पाउनु” भन्ने उहाँको जीवनदर्शनले श्रम, साधना र आस्थाप्रतिको गहिरो विश्वासलाई प्रतिबिम्बित गर्छ।
उहाँका विचारमा मानिसले आफ्ना गलत कर्म अरूबाट लुकाउन सके पनि आफ्नै मनबाट लुकाउन सक्दैन। अन्ततः मानिसले आफूसँगै लैजाने भनेको कुशल र अकुशल कर्म मात्र हो भन्ने मान्यता उहाँले आत्मसात् गर्नुभएको थियो।
नेपाली परम्परागत मूर्तिकलाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानका लागि जीवन समर्पित गर्नुभएका स्वर्गीय कालु कुमालेको निधनले नेपाली कला क्षेत्रमा एउटा विशिष्ट युगको अन्त्य भएको छ। उहाँका सिर्जना, साधना र जीवनदर्शनले भावी पुस्ताका कलाकारलाई प्रेरणा दिइरहनेछन्। उहाँले छाडेर जानुभएको कलात्मक विरासत नेपाली मौलिक कला र सांस्कृतिक सम्पदाको संरक्षणमा दीर्घकालसम्म महत्त्वपूर्ण रहनेछ।
