
ललितपुर ८ कार्तिक -ः मल्लकालीन इतिहास र नेवार सभ्यताको जीवन्त सांस्कृतिक धरोहरका रूपमा रहेको पाटनको ऐतिहासिक कात्तिक नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन हुने भएको छ। पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने नाच हरेक साँझ ७ बजे प्रदर्शन गरिने तयारी भइरहेको आयोजकले जनाएको छ।
कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ। भगवान् विष्णुका विभिन्न लीलामा आधारित यस नाचमा प्रत्येक दिन फरक–फरक कथावस्तु प्रस्तुत गरिन्छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा भय र त्रासबाट मुक्ति दिलाउने उद्देश्यले नाचको सुरुआत गरेको जनविश्वास रहेको चित्रकारले बताए।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा कात्तिक नाच सुरु भएको ऐतिहासिक विवरणमा उल्लेख छ। यस नाचका सर्जक तथा प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय रहेको बताइन्छ।
कात्तिक नाचको इतिहासमा यसको अवधि समयक्रमसँगै विस्तार हुँदै गएको पाइन्छ। सुरुमा पाँच दिन प्रदर्शन गरिने नाचमा राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ‘बाथः प्याखँ’ अर्थात् लोकनाटक, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिनसम्म पुर्याएको मानिन्छ। पछि विभिन्न कथावस्तु र प्रस्तुति समेटिँदै नाच २७ दिनसम्म सञ्चालन हुने परम्परा विकसित भएको थियो।
कात्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार यो नाच नेपालको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण हिस्सा हो। धार्मिक तथा तान्त्रिक महत्व बोकेको नाचले नेवार समुदायभित्र मात्र नभई विभिन्न जातजातिबीचको सद्भाव र सामाजिक एकता कायम गर्न पनि योगदान पुर्याउँदै आएको उनले बताए।
“कात्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग जोडिएको छ। यसलाई नेवार समुदायको समावेशी नाचका रूपमा पनि लिइन्छ, जसले जातीय सद्भाव कायम राख्न भूमिका खेलेको छ । यो बर्ष २००६ सालसम्म दखाउंदै आएको र २००७ साल देखि बन्द भएको माधवानर नाच दखाउने” राजोपाध्यायले भने।
उनका अनुसार मल्लकालीन समयमा नाचका संवाद मैथिली भाषामा प्रस्तुत गरिन्थे। पछिल्लो समय दर्शकले सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले संवादलाई नेपाल भाषामा रूपान्तरण गर्न थालिएको हो।
कुनै समय २७ दिनसम्म सञ्चालन हुने कात्तिक नाच अहिले आर्थिक तथा जनशक्तिसम्बन्धी चुनौतीका कारण १० देखि १२ दिनमा सीमित भएको छ। विसं २००७ को राजनीतिक परिवर्तनपछि नाचको अवधि घटाइएको र विसं २००८ देखि २०३७ सम्म वराह तथा नरसिंह अवतारमा आधारित प्रस्तुति दुई दिन मात्रै प्रदर्शन गरिएको राजोपाध्यायले जानकारी दिए।
कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६० सम्म प्रत्येक वर्ष आठ दिन नाच सञ्चालन गरिएको थियो। विसं २०७० मा वस्त्रहरण र बौद्ध लीला थपिएपछि अवधि १० दिन पुगेको थियो। त्यसपछि विसं २०७१ देखि २०७६ सम्म १२ दिनसम्म नाच प्रदर्शन गरिएको थियो।
विसं २०७७ मा कोभिड–१९ महामारीका कारण नाच दुई दिनमा सीमित भएको थियो। त्यसयता नाचलाई निरन्तरता दिने प्रयास भइरहे पनि ऐतिहासिक रूपमा रहेको २७ दिने स्वरूपमा फर्काउन सकिएको छैन।
“२७ दिनसम्म नाच सञ्चालन गर्न कलाकारको नियमित अभ्यास, पर्याप्त समय र आर्थिक स्रोत आवश्यक पर्छ। नाचका सबै प्रस्तुति पुनः सञ्चालन गर्न लामो तयारी चाहिन्छ,” राजोपाध्यायले भने।
ऐतिहासिक महत्व बोकेको कात्तिक नाचको संरक्षणमा आर्थिक अभाव, कलाकारलाई उचित पारिश्रमिक दिन नसक्नु र नयाँ पुस्तामा परम्परागत भाषा तथा नाट्यशैलीप्रतिको ज्ञान घट्दै जानु प्रमुख चुनौती बनेका छन्।
कलाकारले यसैलाई पेसाका रूपमा अपनाएर जीवनयापन गर्न सक्ने अवस्था नहुँदा नाचका लागि पर्याप्त समय दिन कठिन भइरहेको आयोजकको भनाइ छ। रोजगारीका लागि विदेशिने क्रम बढेसँगै अनुभवी कलाकारको उपलब्धता र नयाँ पुस्तालाई कला हस्तान्तरण गर्ने प्रक्रियामा समेत असर परेको छ।
“कलाकारलाई उचित पारिश्रमिक दिन सकिएको छैन। कलाकार विदेश पलायन हुने समस्या छ भने नयाँ पुस्तामा भाषागत कठिनाइ पनि बढ्दै गएको छ। सरकारी पक्षबाट समेत पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन,” राजोपाध्यायले भने।
नाचको निरन्तरताका लागि कलाकारलाई आर्थिक रूपमा सबल बनाउनु, परम्परागत भाषा र संवादको प्रशिक्षण दिनु तथा नियमित अभ्यासको व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए।
कात्तिक नाच संरक्षण समितिले ऐतिहासिक नाचलाई दीर्घकालसम्म निरन्तरता दिन संस्थागत रूपमा १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। उक्त कोषमार्फत कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने, उनीहरूको पारिश्रमिक सुनिश्चित गर्ने र नयाँ पुस्तालाई परम्परागत भाषा तथा नाट्यकलासम्बन्धी प्रशिक्षण दिने योजना बनाइएको छ।
कात्तिक नाच केवल मनोरञ्जनका लागि प्रस्तुत गरिने नाटक वा नृत्य मात्र नभई पाटनको ऐतिहासिक पहिचान, धार्मिक आस्था र परम्परागत कलाको महत्वपूर्ण दस्तावेज पनि हो। यसमा समेटिएका धार्मिक आख्यान, संगीत, नृत्य, अभिनय र भाषाले नेपालको मौलिक सांस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्छन्।
२७ दिनसम्म सञ्चालन हुने ऐतिहासिक परम्परालाई पुनर्जीवित गर्न सके सांस्कृतिक संरक्षणसँगै पाटनको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने देखिन्छ। त्यसका लागि स्थानीय समुदाय, महानगरपालिका, सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य गरी कलाकारको जीविकोपार्जन तथा सांस्कृतिक पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
