
ललितपुर कार्तिक ९ -ः ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको मानमानेश्वरी भवानी (मुछें आगं) अन्तर्गतको पायः (खड्ग) जात्रालाई लोपोन्मुख अवस्थाबाट पुनः सञ्चालनमा ल्याउन र पुस्तान्तरणमार्फत निरन्तरता दिन योगदान पुर्याउनुभएका गुथिका मूल नाइके साम्राज्यदेव श्रेष्ठलाई सम्मान गरिएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले जात्राको पुनर्जागरण, सञ्चालन तथा परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न गुथियारहरूले निर्वाह गरेको भूमिकाको कदर गर्दै कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार श्रेष्ठलाई सम्मान गरेको हो। जात्रा सम्पन्न भएपछि महालक्ष्मी मन्दिर परिसरमा आयोजित प्रसाद ग्रहण कार्यक्रममा प्रहरी प्रशासन, सुरक्षा निकाय, उद्यमी, व्यवसायी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा उहाँलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले अध्यक्ष श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गले उहाँलाई कलात्मक कलश प्रदान गर्नुभयो।
पायः अर्थात् खड्ग जात्रा कुनै समय लोपोन्मुख अवस्थामा पुगेको थियो। जात्राको ऐतिहासिकता र सांस्कृतिक महत्त्वलाई संरक्षण गर्दै पुनः सञ्चालनमा ल्याउन सञ्चार क्षेत्रबाट निरन्तर पैरवी भएपछि यसको पुनर्जागरणको प्रक्रिया अघि बढेको थियो।

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। राज्य, प्रशासन, सञ्चारजगत् तथा अन्य सरोकारवाला निकायले समुदायलाई सहयोग गर्दै सांस्कृतिक परम्परा सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
यस अभियानमा पत्रकार प्रशान्त माली, सुनील महर्जन र राजेश बज्राचार्यले प्रारम्भिक संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूको अगुवाइ तथा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १७ गते पहिलोपटक जिल्ला प्रशासन, स्थानीय निकाय, गुठी संस्थान तथा गुठियारहरूको सहभागितामा बृहत् गोष्ठी आयोजना गरिएको थियो।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सदस्य तथा उक्त गोष्ठीका संयोजकसमेत रहनुभएका राजेश बज्राचार्यका अनुसार गोष्ठीले जात्रा पुनः सञ्चालनका क्रममा देखिएका समस्या पहिचान, समाधानका उपाय खोजी, सरोकारवाला निकाय र गुठियारबीच समन्वय तथा स्थानीय तहमा निरन्तर पैरवी गर्न आधार तयार गरेको थियो।
गुठियार, सञ्चारकर्मी, नेवाः पत्रकार राष्ट्रिय दबू, उद्यमी, व्यवसायी तथा ललितपुर महानगरपालिकालगायत सरोकारवाला निकायको सामूहिक पहलपछि २०७४ सालमा पाटन दरबार क्षेत्रमा पायः जात्रा पुनः सञ्चालनका लागि क्षमापूजा गरिएको थियो। त्यसपछि २०७५ सालदेखि जात्रा नियमित रूपमा सञ्चालन हुन थालेको हो।
बज्राचार्यले जात्रा पुनः सञ्चालनमा ल्याउन विभिन्न पक्षको सामूहिक प्रयास महत्त्वपूर्ण भए पनि त्यसलाई व्यवहारमा निरन्तरता दिने मुख्य जिम्मेवारी गुथियारहरूले नै निर्वाह गर्दै आएको बताउनुभयो। उहाँका अनुसार अहिले गुथियारहरूबीच नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण हुँदै जानु जात्राको संरक्षणका दृष्टिले सुखद र उपलब्धिमूलक पक्ष हो।
उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयासले पायः जात्रा सञ्चालन गर्ने वातावरण तयार भयो। तर जात्रा सञ्चालन गर्ने त गुथियारहरू नै हुन्। अहिले गुथियारहरूबीच पुस्तान्तरण हुनु सुखद र उपलब्धिको विषय हो। यो पक्ष कदर गर्न योग्य छ।”
मानमानेश्वरी भवानीसँग सम्बन्धित पायः (खड्ग) जात्रा ललितपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो। यस जात्राको सञ्चालन गर्ने मुछें आगं गुथिलाई लिच्छविकालीन राजा मानदेवको वंशपरम्पराको उत्तराधिकारसँग जोडेर हेर्ने गरिएको छ। ऐतिहासिक मान्यताअनुसार मानमानेश्वरी भवानी राजा मानदेवका इष्टदेवीका रूपमा पूजित हुनुहुन्थ्यो।
दशैंका अवसरमा विशेषगरी महानवमी र विजयादशमीका दिन सञ्चालन हुने यस जात्रामा तीनवटा खड्ग प्रदर्शन गरिन्छ। ती खड्गलाई सामाजिक सहिष्णुता, दानवी प्रवृत्तिविरुद्ध शक्तिको प्रदर्शन, तान्त्रिक अनुष्ठान तथा सत्यको विजयको प्रतीकका रूपमा लिने गरिन्छ।
परम्पराअनुसार फूलपातीका दिन मानमानेश्वरी भवानीलाई पाटन दरबार क्षेत्रस्थित मूलचोकमा विराजमान गराइन्छ। दशैंका अवसरमा विभिन्न धार्मिक विधि तथा जात्रा सम्पन्न भएपछि त्रयोदशीका दिन देवीलाई पुनः मुछें आगंमा फर्काएर विराजमान गराउने परम्परा छ।
यसरी जात्रा केवल धार्मिक अनुष्ठानमा सीमित नभई लिच्छविकालीन इतिहास, स्थानीय गुथि परम्परा र नेवाः समुदायको अमूर्त सांस्कृतिक सम्पदासँग अभिन्न रूपमा जोडिएको छ।
सम्मान कार्यक्रममा संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गले लोपोन्मुख अवस्थामा पुगेको अमूर्त सांस्कृतिक सम्पदालाई पुनः सञ्चालनमा ल्याउन गरिएको पायः जात्राको पुनरागमनको प्रयास सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो। उहाँले यस्तो प्रयासबाट संस्कृति संरक्षणका क्षेत्रमा काम गर्ने अन्य समुदाय तथा संस्थाले पनि सिक्न सक्ने धारणा राख्नुभयो।
उहाँका अनुसार संस्कृति संरक्षणका लागि नीतिगत तथा संस्थागत सहयोग आवश्यक भए पनि परम्परालाई जीवित राख्ने मूल आधार समुदायको सक्रियता, सहभागिता र पुस्तान्तरण नै हो।
सम्मान ग्रहणपछि नाइके साम्राज्यदेव श्रेष्ठले पायः जात्रालाई पुनः सञ्चालनमा ल्याउने अभियानदेखि यसको निरन्तरता र पुस्तान्तरणसम्म नेवाः पत्रकार राष्ट्रिय दबू तथा सञ्चारकर्मीहरूले निर्वाह गरेको भूमिकाको उच्च सराहना गर्नुभयो।
जात्रा पुनः सञ्चालनमा ल्याउन विभिन्न पक्षले गरेको पहल र सहकार्यले परम्परालाई निरन्तरता दिन सहयोग पुगेको उल्लेख गर्दै उहाँले गुथियारहरूले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
लोपोन्मुख अवस्थामा पुगेको पायः जात्रा पुनः सञ्चालनमा आउनु स्थानीय समुदाय, गुथियार, सञ्चारकर्मी, उद्यमी–व्यवसायी र स्थानीय सरकारबीचको सहकार्यको उदाहरण बनेको छ। अहिले जात्रा सञ्चालनसँगै यसको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण हुँदै जानुले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा आशा जगाएको छ।
पायः जात्राको पुनर्जागरणले परम्परागत संस्कृतिको संरक्षणका लागि अभिलेखीकरण, निरन्तर पैरवी, संस्थागत सहकार्य र समुदायको सक्रियता अपरिहार्य रहेको सन्देश दिएको छ।
