

ललितपुर । गैरआवासीय नेपाली संघ (NRNA) र ललितपुर उद्योग वाणिज्य संघबीच व्यापार, पर्यटन, संस्कृति तथा लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।


सम्झौतापत्रअनुसार दुवै संस्थाले संयुक्त रूपमा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन, कला र संस्कृतिको प्रचार–प्रसार गर्ने, नेपाली उद्यमीलाई विश्वव्यापी सञ्जालसँग जोड्ने तथा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्य लिएका छन्।
सम्झौताका प्राथमिक उद्देश्यहरूमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने राज्य मेलाहरूमा सहभागिता जनाई ललितपुरका नेवार उत्पादन, सेवा तथा समृद्ध सांस्कृतिक पहिचान प्रदर्शन गर्ने उल्लेख गरिएको छ। साथै व्यापार, पर्यटन तथा लगानीका अवसर भएका विभिन्न देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी नेपाली तथा अन्तर्राष्ट्रिय उद्यमीहरूबीच व्यापारिक सञ्जाल विस्तार गर्ने, पश्चिमी मुलुकहरूमा नेपाली कला, हस्तकला, परिकार तथा सांस्कृतिक सम्पदाको प्रचार गर्ने तथा नेपाल र डायस्पोराबीच सहकार्य अभिवृद्धि गरी सम्भावित लगानी र व्यापारलाई सहज बनाउने सहमति भएको छ।
सम्झौताअन्तर्गत दुवै संस्थाले संयुक्त कार्यक्रम, अन्तर्राष्ट्रिय प्रदर्शनी, व्यापारिक सम्मेलन, सांस्कृतिक आदान–प्रदान तथा लगानीमैत्री पहलहरूमा सहकार्य गर्ने जनाइएको छ।
यस सहकार्यले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुका साथै ललितपुरको सांस्कृतिक तथा आर्थिक पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
