
ललितपुर, असोज २४-ः ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८३ बाट अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्य निर्वाचित भएका छन्। निर्वाचनमा कर्माचार्यले ८६७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणनाबाट विभिन्न पदका उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य तथा संस्थागत क्षेत्रका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य चयन भएका छन्।
प्राप्त निर्वाचन परिणामअनुसार रूपकुमार शाक्य ५७१ मतसहित, सजना श्रेष्ठ (नेम्कुल) ८७५ मतसहित, संजय अमात्य (श्रेष्ठ) ७९१ मतसहित, सुविन बज्राचार्य ७५८ मतसहित र मिलन शाक्य ९२४ मतसहित निर्वाचित भएका छन्।
त्यसैगरी शर्मिला श्रेष्ठ जोशी ७१७ मत, अनिल महर्जन २७९ मत, गंगा महर्जन ३१० मत, दिनेशानन्द शाक्य २८७ मत, प्रविन बज्राचार्य ३२२ मत, रजना श्रेष्ठ जोशी २९४ मत र सुविन मान जोशी ३२७ मत प्राप्त गरी विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार अनिल बज्राचार्यले ५५६ मत, इच्छामान महर्जनले ४४६ मत, उपेन्द्र लाखेले ५३७ मत, प्रशम राज बज्राचार्यले ४६१ मत, महेश्वरलाल खोंसीले ४६४ मत, सानुमाया शाक्यले ४५० मत र सुरेश शाक्यले ४४२ मत प्राप्त गरी विजय हासिल गरेका छन्। रवि महर्जन भने निर्विरोध निर्वाचित भएका छन्।
संघको विधानअनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उद्योग, वाणिज्य र संस्थागत क्षेत्रका उपाध्यक्ष एक–एक, महासचिव एक, कोषाध्यक्ष एक तथा विभिन्न क्षेत्रबाट १५ जना कार्यसमिति सदस्य चयन गर्ने व्यवस्था छ। कार्यसमिति सदस्यमा उद्योग क्षेत्रबाट छ, वाणिज्य क्षेत्रबाट सात, संस्थागत क्षेत्रबाट एक र एशोसियट क्षेत्रबाट एक जना चयन हुने व्यवस्था रहेको छ।
एशोसियट उपाध्यक्ष पदमा निर्वाचन भएन
संघको विधानको दफा ६.३ मा रहेको उपाध्यक्ष (एशोसियट) सम्बन्धी व्यवस्थाअनुसार उक्त पदमा निर्वाचन हुन सकेन। विधानको नोट महलमा कम्तीमा ५० वटा एशोसियट सदस्य पुगेपछि मात्र उपाध्यक्ष पदको व्यवस्था हुने प्रावधान रहेकामा आवश्यक सदस्य संख्या नपुगेका कारण उक्त पदका लागि निर्वाचन नगरिएको जनाइएको छ।
निर्वाचनबाट चयन भएको नयाँ नेतृत्वले ललितपुरका उद्योगी, व्यवसायी तथा उद्यमीका हकहितको संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादन तथा व्यापार प्रवर्द्धन र संघको संस्थागत सुदृढीकरणमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
