
ललितपुर भाद्र २६ -ः लामो समयदेखि अस्तित्व विहीन जस्तै बनेको ललितपुरको ऐतिहासिक शारदा पुस्तकालयले पुनः जीवन पाएको छ। वि.सं. २०४६ सालदेखि बन्द रहेको पुस्तकालयलाई ललितपुर महानगरपालिकाले पुनः सञ्चालनमा ल्याएको हो।
२०४६ सालको जनआन्दोलनअघि शारदा पुस्तकालय तत्कालीन ललितपुर नगर पञ्चायतको भवनबाट सञ्चालन हुँदै आएको थियो। जनआन्दोलनका क्रममा पुस्तकालयका सामग्रीसमेत नष्ट भएपछि लामो समयसम्म यसको अस्तित्व हराएको थियो। करिब चार दशकपछि महानगरपालिकाले पुस्तकालयलाई पुनःस्थापित गर्दै सार्वजनिक पठन संस्कृतिसँग जोड्ने प्रयास गरेको हो।
उद्घाटनपछि संस्कृति शिरोमणि जोशीले ऐतिहासिक पुस्तकालयलाई पुनर्जीवन दिएकोमा ललितपुर महानगरपालिकाप्रति आभार व्यक्त गरे। महानगर प्रमुख, उपप्रमुखसहित सम्पूर्ण महानगर परिवारलाई धन्यवाद दिँदै उनले शारदा पुस्तकालयलाई पुनः सञ्चालनमा ल्याउनु आफैंमा महत्वपूर्ण काम भएको बताए।
‘शारदा’को अर्थ आमा रहेको उल्लेख गर्दै जोशीले पुस्तकालय उद्घाटनको दिन आफ्नो जीवनसँग समेत विशेष रूपमा जोडिएको बताए। आफ्नै आमाको पुण्यतिथिका दिन पुस्तकालय उद्घाटन गर्न पाउनु आफ्ना लागि विशेष र आनन्दको क्षण भएको उनको भनाइ थियो।

जोशीले विगतमा पुस्तकालय निकै उपेक्षित अवस्थामा रहेको स्मरण गर्दै महानगरपालिकाले त्यसलाई नयाँ भवनको उच्च स्थानमा पुनःस्थापित गरेकोमा खुसी व्यक्त गरे। पुस्तकालय केवल किताब राख्ने ठाउँ नभई ज्ञान, चेतना र संस्कृतिको केन्द्र बन्नुपर्नेमा उनले जोड दिए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शहरको पहिचान र विकासका लागि सिटी लाइब्रेरी तथा सिटी हल आवश्यक रहेको बताए। महानगरले सिटी हलको व्यवस्था गर्नुका साथै नयाँ भवनमा सिटी लाइब्रेरी सञ्चालनमा ल्याएको उनले जानकारी दिए।

शारदा पुस्तकालयको पुनःस्थापनालाई महानगरले गम्भीरतापूर्वक अघि बढाएको उल्लेख गर्दै महर्जनले पुस्तकालयका लागि पुस्तक तथा सामग्री उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीप्रति आभार व्यक्त गरे।
सत्यमोहन जोशीले शारदा पुस्तकालयलाई पुनःस्थापित गर्न आफूलाई पटक–पटक प्रेरित गरेको स्मरण गर्दै महर्जनले २०४६ सालको जनआन्दोलनका क्रममा ‘बीउसमेत नरहने गरी’ पुस्तकालय मासिएको अवस्था रहेको बताए।
पुस्तकालयको शुक्रबार संस्कृति शिरोमणि हरिराम जोशीले उद्घाटन गरे। महानगरपालिकाको नयाँ भवन ‘ब्लक बी’को चौथो तल्लामा पुस्तकालय सञ्चालनमा ल्याइएको छ।

महानगरले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा गर्दै आएका विभिन्न कामबारे पनि महर्जनले जानकारी गराए। ललितपुरको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई जोगाउँदै नयाँ पुस्तालाई ज्ञान र सिर्जनासँग जोड्ने कामलाई महानगरले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउन शारदा पुस्तकालय पुनःस्थापना गरिएको बताइन्।

पुस्तकालय पुनःस्थापना गर्नु सहज काम नभएको उल्लेख गर्दै उनले यस अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। पुस्तक ज्ञान प्राप्तिको प्रारम्भिक र महत्वपूर्ण स्रोत भएकाले समाजमा पुस्तकालयको महत्वबारे नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको उनले बताइन्।
लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माएको ललितपुर आफैंमा गौरवशाली शहर भएको बताए। ऐतिहासिक शारदा पुस्तकालयलाई पुनःस्थापित गरेर महानगरपालिकाले आफ्नो गरिमा थप बढाएको उनको भनाइ थियो।
पुस्तकालय पुनःस्थापनाका क्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय तथा मदन पुस्तकालयबाट प्राप्त सहयोगप्रति पनि महानगरपालिकाले आभार व्यक्त गरेको छ।

चार दशकभन्दा लामो समय बन्द रहेको शारदा पुस्तकालय पुनः सञ्चालनमा आएसँगै ललितपुरमा सार्वजनिक पुस्तकालयको भूमिका पुनः स्थापित हुने अपेक्षा गरिएको छ। ऐतिहासिक पुस्तकालयलाई नियमित, व्यवस्थित र अध्ययन–अनुसन्धानमैत्री बनाउँदै लैजान सके यसले ललितपुरको साहित्य, कला, संस्कृति र इतिहाससँग सम्बन्धित ज्ञान सामग्रीको संरक्षणसँगै नयाँ पुस्तामा पठन संस्कृतिको विकासमा समेत योगदान पुर्याउने देखिन्छ।
