
ललितपुर भाद्र २३ -ः सशस्त्र प्रहरी बल नेपालले ललितपुरमा ठूलो मात्रामा लागुऔषधजन्य औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली, ललितपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ८८ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय अन्तर्गतको ए.पि.एफ. इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाका आधारमा नं. २१ गणबाट खटिएको टोलीले ललितपुर महानगरपालिका वडा नं. ७, दोपाटस्थित एक घरमा छापा मारेर उक्त लागुऔषधजन्य औषधि बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त घरमा भाडामा बस्दै आएकी मिना भुजेलको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषधको रूपमा प्रयोग हुन सक्ने Tramadol Hydrochloride Capsule Tramol-50 बरामद गरिएको हो।
बरामद गरिएको औषधि ८ हजार ८ सय १३ फाइल अर्थात् ८८ हजार १ सय ३० पिस क्याप्सुल रहेको सशस्त्र प्रहरीले जनाएको छ। ठूलो परिमाणमा बरामद गरिएको उक्त औषधि तथा घटनामा संलग्न महिलालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली, ललितपुरका गणपतिका अनुसार बरामद गरिएको सामग्री र नियन्त्रणमा लिइएकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाइएको छ।
लागुऔषधजन्य औषधिको अवैध प्रयोग तथा कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले अघि बढाउनेछ।
