बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग

ललितपुर भाद्र १९ -ः रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा बिहीबार गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने महासंघले जनाएको छ ।

महासंघका अनुसार उक्त सहयोग रकम महासंघको कार्यसमिति, प्रदेश समिति तथा महासंघमा आबद्ध जिल्ला, नगर, वस्तुगत र एसोसियट सदस्यहरूबाट संकलन गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै महासंघका कार्यवाहक अध्यक्ष बज्राचार्यले विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत पु¥याउन महासंघले आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै पुनर्निर्माणका लागि पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महासंघले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघले यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिका समयमा पीडित तथा प्रभावित नागरिकको राहत र उद्धारका लागि सहयोग गर्दै आएको जनाएको छ । विपद्का समयमा निजी क्षेत्र तथा व्यवसायी समुदायले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्नुपर्ने महासंघको धारणा छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष बज्राचार्यसँगै विशिष्ट सदस्य मोहन सुनार, उपाध्यक्ष पवनकुमार सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम तथा महानिर्देशक शिव दुवाडीको उपस्थिति थियो ।

त्यस्तै, महासंघअन्तर्गत काठमाडौं जिल्ला संघका अध्यक्ष रोहिना शाक्य र कोषाध्यक्ष रमेशमान शाक्य, ललितपुर संघका अध्यक्ष सुविन बज्राचार्य, बूढानीलकण्ठ संघका अध्यक्ष भिष्म गौतमलगायतको पनि सहभागिता रहेको थियो ।

More From Author

फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *