



ललितपुर भाद्र ३-ः ललितपुर महानगरपालिकाभित्र पर्ने चक्रपथको बालकुमारीदेखि बल्खुसम्मको करिब ७.९ किलोमिटर सडकखण्डमा जडान गरिएको Smart Street Light आजदेखि सञ्चालनमा आएको छ। स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गृह मन्त्री सुदन गुरुङले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती जडान भएसँगै रातिको समयमा सडकको दृश्यता र सडक सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। मुख्य सडकमा पर्याप्त प्रकाशको व्यवस्था हुँदा पैदलयात्री तथा सवारी चालकलाई सहज हुने र सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ।
ललितपुर महानगरपालिकाले पछिल्लो समय सडक पूर्वाधारलाई प्रविधिमैत्री बनाउने क्रममा Smart Street Light, CCTV तथा Intelligent Traffic Light लगायतका प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ। महानगरपालिकाको नीतिमा समेत सडक सुरक्षाका लागि Smart Street Light, High Mast र CCTV जडानलाई क्रमशः विस्तार गर्ने उल्लेख गरिएको छ।
बालकुमारी–बल्खु चक्रपथ खण्डमा स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा आएसँगै ललितपुर प्रवेश गर्ने तथा ललितपुर हुँदै काठमाडौँतर्फ आवतजावत गर्ने यात्रुका लागि रातिको सडक यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
महानगरपालिकाका अनुसार आधुनिक प्रविधिको प्रयोगसँगै सडक सुरक्षा, शहरी सौन्दर्य र रात्रीकालीन आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले यस्ता पूर्वाधारलाई थप विस्तार गर्दै लैजाने तयारी छ
