मातृभाषा जोगाउनु सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : मन्त्री गौतम

काठमाडौं, २६ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मातृभाषालाई प्रयोगमा ल्याएर जीवन्त राख्नु भनेको भाषा मात्र जोगाउनु नभई सभ्यता, संस्कृति र पुर्खाहरूको ज्ञानलाई पुस्तान्तरण गर्नु भएको बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन गर्दै मन्त्री गौतमले यस्तो बताउनुभएको हो। ‘मातृभाषा पत्रकारिता, भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको हो।

उद्घाटन समारोहमा मन्त्री गौतमले समुदायमा भाषा विद्यमान हुँदैमा मात्र त्यसको अस्तित्व सुरक्षित नहुने बताउनुभयो। दैनिक जीवन, सञ्चार र सार्वजनिक क्षेत्रमा भाषाको प्रयोग बढाउनुपर्नेमा उहाँको जोड थियो।

“कतिपय भाषाहरू हाम्रो समुदायमा छन् त भन्ने किसिमको हुन सक्छ तर ती भाषालाई प्रयोगमा ल्याएनौँ भने ती भाषा जीवन्त रहँदैनन्,” उहाँले भन्नुभयो, “भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाहरूको ज्ञान यी सबैलाई अगाडि बढाउनु पनि हो।”

मन्त्री गौतमले राज्यका सूचना देशका सबै भूगोल र समुदायसम्म समान रूपमा पुग्नुपर्ने बताउनुभयो। राज्यले आफ्नोतर्फबाट सूचना पहुँच विस्तारका लागि पहल गरिरहेको भए पनि वास्तविक रूपमा सूचना नपुगेका समुदायसम्म पुर्‍याउन मातृभाषामा पत्रकारिता गर्ने सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

नेपालका विभिन्न भूगोलमा अझै पनि राज्यका सबै सूचना समान रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले सूचना र नागरिकबीचको दूरी हटाउन सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

“नेपालको हरेक कुना–काप्चामा गएर हामीले नेपाली दिदीबहिनीलाई सोध्यौँ भने राज्यका सबै सूचना तपाईंले प्राप्त गर्नुभएको छ त ? कतै न कतै त्यहाँ हामीले दूरी भेटिरहेका हुन्छौँ,” मन्त्री गौतमले भन्नुभयो।

राज्यले आफ्नो क्षेत्रबाट सूचना पहुँच विस्तारका लागि पहल गर्ने भए पनि नागरिक र राज्यबीचको सूचना दूरी हटाउने महत्वपूर्ण जिम्मेवारी सञ्चारकर्मीको काँधमा रहेको उहाँको भनाइ थियो।

मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गर्ने पत्रकारहरूले आफूहरू पेलिएको वा हेपिएको महसुस मात्र गरेर बस्न नहुने बताउनुभयो। यस्तो अवस्था सिर्जना हुनुका कारणबारे सम्बन्धित सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।

सूचनाको पहुँचबाट टाढा रहेका समुदायलाई सञ्चारमार्फत मूलधारमा ल्याउन मातृभाषी पत्रकारले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै उहाँले यस योगदानप्रति राज्य र समाज कृतज्ञ हुनुपर्ने बताउनुभयो।

“नेपाली समाजमा भएका हरेक मानिस, जो सूचनाको पहुँचबाट टाढा छन्, उहाँहरूलाई सूचना दिएर मूलधारमा ल्याउन यहाँहरूले जुन भूमिका खेल्नुभएको छ, यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ,” उहाँले भन्नुभयो।

मातृभाषी पत्रकारले आफूलाई पेलिएको वा हेपिएको महसुस गर्नुपर्नाको कारण पहिचान गरी सबै पक्षले आत्मालोचना गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने उहाँको धारणा थियो।

कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरीले नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका रूपमा स्वीकार गरिसकेको अवस्थामा राज्यले सबै भाषाभाषी समुदायलाई समान दृष्टिले हेर्नुपर्ने बताउनुभयो।

मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मातृभाषामा सञ्चार सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणलाई प्रोत्साहन गर्ने गरी राज्यले ठोस नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले मातृभाषी पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा मातृभाषामा सञ्चार सामग्रीको विस्तारका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

मातृभाषा पत्रकारिताको विकास, भाषिक अधिकारको संरक्षण र विभिन्न समुदायलाई सूचनाको मूलधारमा जोड्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा मातृभाषा पत्रकारिताका अवसर, चुनौती र आगामी कार्यदिशाबारे समेत छलफल हुने आयोजकले जनाएको छ।

More From Author

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँ : सभापति थापा

लगनखेलको जुत्ता–चप्पल मेलाले स्थानीय व्यवसाय प्रभावित भएको भन्दै महानगरको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *