लगनखेलको जुत्ता–चप्पल मेलाले स्थानीय व्यवसाय प्रभावित भएको भन्दै महानगरको ध्यानाकर्षण

ललितपुर, २७ श्रावण-ःललितपुर महानगरपालिका–लगनखेलस्थित सार्वजनिक खुला स्थानमा सञ्चालन भइरहेको जुत्ता–चप्पल मेलाका कारण कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय व्यवसायीहरूको व्यापारमा गम्भीर असर परेको भन्दै ललितपुर उद्योग वाणिज्य संघले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।

स्थानीय व्यवसायीहरूले महानगरपालिकामा दर्ता भई, घरबहाल लिएर तथा महानगरपालिकालाई नियमित राजस्वसमेत बुझाउँदै व्यवसाय सञ्चालन गरिरहेका अवस्थामा सार्वजनिक खुला स्थानमा सञ्चालन गरिएको मेलाले उनीहरूको व्यवसायमा प्रतिकूल असर पारेको भन्दै संघले तत्काल ध्यान दिन आग्रह गरेको हो।

ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमि नन्दन कर्माचार्यको नेतृत्वमा संघका कार्यसमिति सदस्य एवं राजस्व समितिका संयोजक पूर्णबहादुर महर्जन, ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष शेरबहादुर महर्जन, निवर्तमान अध्यक्ष मिलन श्रेष्ठ तथा कार्यसमिति सदस्यहरू र कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यसहितको टोलीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई भेटी यस विषयमा ध्यानाकर्षण गराएको हो।

टोलीसँगको छलफलमा मेयर महर्जनले आगामी दिनमा यस्ता मेला सञ्चालनका लागि अनुमति दिनुअघि त्यसबाट स्थानीय व्यवसायीमा पर्ने प्रभावलाई समेत विचार गरिने बताउनुभएको छ। स्थानीय व्यवसायीको हितलाई ध्यानमा राखेर मात्र महानगरपालिकाले यस्ता कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिने नीति अवलम्बन गर्ने उहाँले आश्वासन दिनुभएको संघले जनाएको छ।

छलफलका क्रममा ललितपुर महानगरपालिकाभित्र बढ्दै गएको अव्यवस्थित फुटपाथ व्यापारका कारण नियमित रूपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू प्रभावित भएको विषयसमेत उठाइएको थियो।

ललितपुर उद्योग वाणिज्य संघले जिल्लास्थित विभिन्न वस्तुगत संघहरूको आग्रहअनुसार फुटपाथ व्यापारलाई व्यवस्थित तथा व्यवस्थापन गर्न महानगरपालिकासँग चरणबद्ध रूपमा छलफल र ध्यानाकर्षण गर्दै आएको जनाएको छ।

संघका प्रतिनिधिहरूले फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुने व्यापारले घरबहाल, कर तथा अन्य राजस्व तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई प्रत्यक्ष असर पारिरहेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न महानगरपालिकासँग आग्रह गरेका थिए।

यस विषयमा मेयर चिरीबाबु महर्जनले फुटपाथ व्यापारको समस्या गम्भीर रहेको स्वीकार गर्दै यसको व्यवस्थापनलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

महानगरपालिकाले स्थानीय व्यवसायीको हित, सार्वजनिक स्थानको उचित व्यवस्थापन तथा पैदलयात्रीको सहज आवागमनलाई समेत ध्यानमा राख्दै फुटपाथ व्यापार व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ।

व्यवसायीहरूले भने मेला तथा फुटपाथ व्यापारका नाममा हुने अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्दै वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यवसायीको लगानी, रोजगारी र व्यवसायिक हितको संरक्षण गर्न महानगरपालिकाले स्पष्ट नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

More From Author

मातृभाषा जोगाउनु सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : मन्त्री गौतम

बहुप्रतिभाशाली कलाकार स्वतन्त्र संसार महर्जनको स्मृतिमा ‘फर्की आउ प्रिय’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *