सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँ : सभापति थापा

ललितपुर, २४ साउन -ः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी आफ्नो पार्टीले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु आफ्नो संवैधानिक तथा राजनीतिक जिम्मेवारी भएको बताउनुभयो।

उहाँले राष्ट्रिय मुद्दामा सरकारसँग सहकार्य गर्नुपर्ने अवस्थामा प्रमुख प्रतिपक्षी दल सबैभन्दा अगाडि उभिनुपर्ने भए पनि सरकारलाई जवाफदेही बनाउने कामबाट पछि हट्न नहुने धारणा राख्नुभयो।

“जब राष्ट्रिय मुद्दाहरूमा आउँछ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ। सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौँ, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो,” सभापति थापाले भन्नुभयो।

उहाँले तीन दल मिलेर सरकार बनाउने प्रस्ताव आए पनि नेपाली कांग्रेसले प्रतिपक्षीविहीन प्रदेश सरकारको अवधारणालाई स्वीकार नगरेको स्पष्ट पार्नुभयो।

“तीन दल मिलेर सरकार बनाऔँ भन्दा हामीले प्रतिपक्षीविहीन प्रदेश सरकारको अस्वीकार गरेका हौँ,” उहाँले भन्नुभयो।

सभापति थापाले नेपाली कांग्रेसभित्र सम्पन्न भएको विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण रहेको दाबी गर्नुभयो।

विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि त्यसबाट स्पष्ट निष्कर्ष र परिणाम आएको उल्लेख गर्दै उहाँले सोही परिणामलाई लिएर निर्वाचन आयोगमा उपस्थित भएको बताउनुभयो।

उहाँका अनुसार निर्वाचन आयोगले प्रचलित कानुन, निर्वाचनसम्बन्धी नियम तथा आफ्नै आन्तरिक प्रशासनिक व्यवस्थाअनुसार पार्टी महाधिवेशनबाट आएको परिणामको अध्ययन गरेको थियो।

“आयोगले उक्त परिणामलाई आधिकारिक रूपमा स्वीकार गर्दै बुझ्यो र सोहीअनुसार पार्टीको विवरण अद्यावधिक गर्‍यो। यससँगै निर्वाचन आयोगको प्रक्रिया पूरा भयो,” सभापति थापाले भन्नुभयो।

विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति पार्टीभित्रै केही नेताहरूले पूर्ण असहमति जनाउँदै आएको विषय पुनः अदालतमा प्रवेश गरेको सभापति थापाले बताउनुभयो।

निर्वाचन आयोगको निर्णयमाथि उठेका केही प्रश्नमा पुनः छलफल होस् भन्ने उद्देश्यले विषय अदालतको प्रक्रियामा पुगेको उहाँको भनाइ छ।

“आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि पुनः एकपटक छलफल होस् भन्ने मनसायका साथ यो विषय पुनः अदालतको प्रक्रियामा पुगेको हो,” उहाँले भन्नुभयो।

सभापति थापाले अदालतको प्रक्रियाबाट यस विषयमा थप स्पष्टता आउने विश्वास व्यक्त गर्नुभयो।नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई निष्पक्ष र सबैलाई समेट्ने गरी सम्पन्न गरिने बताउनुभयो।

उहाँले पार्टीका अग्रजहरूको सम्मान गर्दै सबै नेता तथा कार्यकर्तालाई समान अधिकार र अवसर प्रदान गरिने स्पष्ट पार्नुभयो। महाधिवेशनमा कुनै पनि प्रकारको डर वा दबाबमा नपरी स्वतन्त्र रूपमा सहभागी हुन पार्टीका नेता–कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो।

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै सभापति थापाले समावेशी समुदायको सहभागितालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउँदै रुख चिन्हप्रति निष्ठावान् भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

“डर–दबाबमा नपरी पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति निष्ठावान् रहँदै पार्टीलाई एकजुट बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

केन्द्रीय समिति बैठकमा सभापति थापाले वर्तमान राजनीतिक परिस्थिति, प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिका, पार्टीको आन्तरिक एकता तथा आगामी १५औँ महाधिवेशनका विषयमा समेत धारणा राख्नुभएको छ।

More From Author

आदिवासी जनजातिका मुद्दामा दलभन्दा माथि उठेर वकालत गर्न सांसदलाई आग्रह

मातृभाषा जोगाउनु सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : मन्त्री गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *