जलवायु संकटसँग जुध्न ‘हरित उत्सव’, पुनःप्रयोग र व्यवहार परिवर्तनमा जोड

ललितपुर, २३ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण गर्न पुनःप्रयोग र पुनःचक्रणलाई दैनिक जीवनको अभ्यासमा रूपान्तरण गर्दै वातावरणमैत्री व्यवहार विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। उनीहरूले जलवायु परिवर्तन कुनै निश्चित वर्ग, समुदाय वा समूहको मात्र समस्या नभई सम्पूर्ण मानव समाजको साझा चुनौती भएको बताएका छन्।

चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले साथसाथै फाउन्डेसन, अन्तरपुस्ता नारीवादी मञ्च (आईजीएफएफ) र ललितपुर महानगरपालिकाको सहकार्यमा ‘हरित उत्सवः परिवर्तनको नेतृत्व महिलाको हातमा’ अभियान सुरु गरिएको हो।

अभियान शुभारम्भ कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्व तथा दैनिक जीवनमा बढ्दो प्लास्टिक प्रयोग घटाउन, उपलब्ध सामग्रीको पुनःप्रयोग गर्न र फोहोरलाई पुनःचक्रण गर्ने संस्कार विकास गर्न सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासलाई सामाजिक संस्कारकै रूपमा विकास गर्नुपर्ने बताइन्।

वातावरणीय समस्या कुनै एक क्षेत्रसम्म सीमित नरहेको उल्लेख गर्दै उनले यसको असर स्वास्थ्य, अर्थतन्त्र, सामाजिक जीवन तथा विकासका विभिन्न क्षेत्रमा देखिन थालेको बताइन्। वातावरण संरक्षणका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैले आ–आफ्नो तहबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा भूमिका श्रेष्ठले जलवायु परिवर्तनका कारण समाजका सबै वर्ग प्रभावित भइरहेको बताइन्। जलवायु संकटलाई महिला वा अल्पसंख्यक समुदायको मात्र विषयका रूपमा हेर्न नहुने उनको भनाइ थियो।

उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था निर्माणमा जोड दिँदै यस विषयलाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

मधेसी आयोगकी सदस्य रेणु शाहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि हरित अभियान, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

वातावरण संरक्षण सरकार वा कुनै एउटा संस्थाको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताइन्। विशेषगरी प्लास्टिकको अनियन्त्रित प्रयोगलाई निरुत्साहित गर्दै वातावरणमैत्री विकल्पको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन्।

प्रकृति जोगिए मात्र मानव अस्तित्व सुरक्षित

साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले ‘हरित उत्सव’ वातावरण संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्ने अभियान भएको बताइन्।

महिलावादी संस्था तथा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अभियानलाई अगाडि बढाइने उनले जानकारी दिइन्।

उनले प्रकृतिमैत्री मानवीय गतिविधिलाई प्राथमिकता दिनु सबैको साझा जिम्मेवारी भएको बताउँदै प्रकृतिको संरक्षण गर्न सके मात्र मानव अस्तित्व सुरक्षित रहने धारणा राखिन्।

विशेषगरी चाडपर्वका समयमा हुने अत्यधिक प्लास्टिक प्रयोग तथा वातावरणमा नकारात्मक असर पार्ने गतिविधिलाई घटाउँदै पुनःप्रयोग र व्यवहार परिवर्तनलाई अभियानको महत्वपूर्ण पक्ष बनाउनुपर्ने उनले बताइन्।

‘हाम्रो जिम्मेवारी, हाम्रो सम्पदा र संरक्षित वातावरण’ अभियानसँग जोडिएर बोल्दै वविता बस्नेतले वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताइन्।

उनले वातावरण संरक्षणलाई केवल अभियान वा नारामा सीमित नगरी घरपरिवारदेखि समुदाय र सार्वजनिक जीवनसम्म व्यवहारमै उतार्नुपर्नेमा जोड दिइन्।

वातावरणविद् सुनिल कुमार मानन्धरले वातावरणीय सरोकार प्रत्येक नागरिकको चासो र जिम्मेवारीसँग जोडिएको बताए।

उनले पोलिष्टर तथा प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा पार्ने असरबारे व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गरे। फोहोर उत्पादन घटाउनुका साथै प्रयोग भइसकेका सामग्रीको उचित व्यवस्थापन र पुनःप्रयोगमा ध्यान दिनुपर्ने उनको भनाई
मधु घिमिरेले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने संस्कार विकास गर्नुपर्ने बताइन्।

हरेक स्रोतको प्रयोग गर्दा त्यसबाट कमभन्दा कम क्षति र बढीभन्दा बढी उपयोगिता हासिल हुने गरी दिगो तथा जिम्मेवार उपभोगको अभ्यास विकास गर्नुपर्ने उनले बताइन्। स्रोतसाधनको विवेकपूर्ण प्रयोगले वातावरणीय दबाब घटाउनुका साथै दिगो जीवनशैली विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, प्लास्टिकजन्य फोहोर न्यूनीकरण, पुनःप्रयोग तथा पुनःचक्रण, हरित अभियान र वातावरणमैत्री जीवनशैलीलगायत विषयमा छलफल गरिएको थियो।

वक्ताहरूले चाडपर्वका नाममा हुने अनावश्यक उपभोग र प्लास्टिकजन्य फोहोर उत्पादन घटाउँदै स्थानीय तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

अभियानले महिलाको सहभागिता र नेतृत्वलाई केन्द्रमा राख्दै वातावरण संरक्षणलाई घरपरिवार, समुदाय हुँदै व्यापक सामाजिक अभियानका रूपमा विकास गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। जलवायु परिवर्तनको प्रभाव बढ्दै गइरहेको अवस्थामा नागरिकको दैनिक व्यवहारमा परिवर्तन ल्याउन सके मात्रै दीर्घकालीन वातावरण संरक्षण सम्भव हुनेमा कार्यक्रममा सहभागीहरूको समान धारणा थियो।

More From Author

वितरण व्यवसायलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सहकार्य आवश्यक

आदिवासी जनजातिका मुद्दामा दलभन्दा माथि उठेर वकालत गर्न सांसदलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *