
ललितपुर श्रावण २३ -ः नेपाली बजारमा वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्दै समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन वितरक व्यवसायीहरूको योगदान अतुलनीय रहेको सरोकारवालाहरूले बताएका छन्। वितरण व्यवसायलाई थप मर्यादित, व्यवस्थित, आधुनिक तथा प्रविधिमैत्री बनाउन सम्बन्धित संघसंस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।
नेपाल वितरक संघले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरी रजत जयन्ती मनाउने अवसरमा विभिन्न उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिहरूले संघलाई शुभकामना दिँदै वितरण व्यवसायको विकास र व्यवसायीहरूको हकहित संरक्षणमा संघले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुर क्षेत्रमा ठूलो संख्यामा व्यवसायीहरू वितरण व्यवसायमा आबद्ध रहेको बताउँदै तीमध्ये धेरै व्यवसायी ललितपुर उद्योग वाणिज्य संघका सदस्यसमेत रहेको उल्लेख गरेका छन्।
उनले नेपाली बजारमा वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन वितरक व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
“वितरण पेशालाई थप मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका साथै व्यवसायीका हकहित र समस्या समाधानमा नेपाल वितरक संघले खेल्दै आएको भूमिका अत्यन्तै अनुकरणीय छ,” अध्यक्ष बज्राचार्यले भने।
आगामी दिनमा पनि नेपाल वितरक संघको नेतृत्वदायी भूमिका अझ सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै उनले वितरक व्यवसायीहरूको व्यावसायिक हितका लागि ललितपुर उद्योग वाणिज्य संघ नेपाल वितरक संघसँग काँधमा काँध मिलाएर सहकार्य गर्न सधैँ तत्पर रहेको बताए।

नेपाल वितरक संघको रजत जयन्तीका अवसरमा संघको निरन्तर प्रगति, सफलता तथा सम्पूर्ण वितरक व्यवसायीहरूको उत्तरोत्तर व्यावसायिक समृद्धिको कामनासमेत उनले व्यक्त गरेका छन्।
ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले पनि नेपाल वितरक संघको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वितरण व्यवसायको आधुनिकीकरणका लागि सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार ललितपुर क्षेत्रका अधिकांश वितरक व्यवसायी नेपाल वितरक संघसँग सक्रिय रूपमा आबद्ध छन्। ललितपुर उद्योग वाणिज्य संघले आफ्ना वितरक व्यवसायी साझेदारहरूसँग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए।
“वितरक व्यवसायीहरूको व्यावसायिक हित, समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनका लागि दुई संस्थाबीच हुँदै आएको सहकार्य र समन्वय आगामी दिनमा अझ दृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु,” महासचिव कर्माचार्यले भने।
उनले नेपाल वितरक संघको रजत जयन्तीको अवसरमा संघको निरन्तर प्रगति, सफलता तथा सम्पूर्ण वितरक व्यवसायी साथीहरूको व्यावसायिक समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, काठमाडौंका अध्यक्ष रजत श्रेष्ठले वितरण व्यवसायलाई आधुनिकीकरण गर्न, व्यावसायिक अधिकार तथा हितको संरक्षण गर्न र वितरकहरूको व्यावसायिक सुरक्षा सुनिश्चित गर्न नेपाल वितरक संघले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
उनले विगतका सिकाइ र अनुभवलाई आत्मसात गर्दै आगामी दिनमा संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने दिशामा काम भइरहेको बताए।
नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, काठमाडौंले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको हकहितका विषयमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले नेपाल वितरक संघलगायत सम्बन्धित संघसंस्थासँगको सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

“नेपाल वितरक संघ र अन्य सम्बन्धित संघहरूसँग निरन्तर सहकार्य गरिरहेका छौँ। आगामी दिनमा पनि व्यवसायीहरूको व्यावसायिक सुरक्षा र अधिकारका लागि दृढतापूर्वक आवाज उठाउँदै निजी क्षेत्रका लागि अनुकूल व्यावसायिक वातावरण निर्माणमा योगदान गर्नेछौँ,” उनले भने।
रजत जयन्तीको अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल वितरक संघका सम्पूर्ण वितरक व्यवसायी मित्रहरूको निरन्तर प्रगति, सफलता तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।नेपालमा वस्तु तथा सेवाको वितरण प्रणालीलाई व्यवस्थित बनाउन तथा वितरक व्यवसायीहरूको व्यावसायिक हकहित संरक्षण गर्न नेपाल वितरक संघले विगत २५ वर्षदेखि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
बजारमा उत्पादक र उपभोक्ताबीच महत्वपूर्ण सेतुका रूपमा काम गर्ने वितरक व्यवसायीहरूले देशभर वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। बजारको मागअनुसार वस्तुको उपलब्धता, आपूर्ति व्यवस्थापन तथा व्यवसाय सञ्चालनमा वितरकहरूको भूमिका महत्वपूर्ण मानिन्छ।

वितरण क्षेत्रसँग सम्बन्धित नीतिगत समस्या, व्यवसाय सञ्चालनका चुनौती, व्यवसायीको सुरक्षा तथा आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा संघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा निजी क्षेत्रले गरेको छ।
नेपाल वितरक संघको वर्तमान कार्यसमिति–२०८२ मा प्रेमहरि मैनाली अध्यक्ष रहेका छन्। त्यस्तै रामहरि घिमिरे निवर्तमान अध्यक्ष, नवराज दाहाल वरिष्ठ उपाध्यक्ष, केशवप्रसाद मैनाली उपाध्यक्ष, गणेशप्रसाद तिमल्सिना महासचिव, अशोककुमार कंडेल सचिव र दिनेशमणि रिसाल कोषाध्यक्ष रहेका छन्।

कार्यसमिति सदस्यहरूमा कपिल रेग्मी, रमेश प्रजापति (सह–कोषाध्यक्ष), निलकण्ठ ढकाल, विनोद अधिकारी, रामप्रसाद ढकाल, भोजप्रसाद फुयाल (उमेश), फडीन्द्र खड्का (विकास), दीपक घिमिरे, रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविणकुमार कर्माचार्य, सन्तोष पौडेल, सुबोधकुमार झा, गणेश कार्की र जयराम लवजु रहेका छन्।
त्यस्तै सम्झना मैनाली, ममिता महर्जन र तारादेवी महर्जन आमन्त्रित सदस्यका रूपमा रहेका छन्।
नेपाल वितरक संघले २५ वर्षको यात्रालाई उपलब्धिका रूपमा मनाउँदै आगामी दिनमा वितरण क्षेत्रलाई थप व्यवस्थित, मर्यादित, प्रविधिमैत्री र व्यावसायिक बनाउन सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।
