काठमाडौं, साउन २२ -ः नेपाल आदिवासी जनजाति महासंघले ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस वर्षको दिवस देशभर अधिकार, पहिचान, भाषा र संस्कृतिको संरक्षणलाई केन्द्रमा राखेर विविध कार्यक्रमसहित मनाइने जानकारी दिएको हो।

महासंघका अनुसार यस वर्षको विश्व आदिवासी दिवस ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइनेछ। मुख्य समारोह साउन २४ गते काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा आयोजना हुनेछ।
दिवसका अवसरमा देशका विभिन्न जिल्लाबाट सहभागी हुने आदिवासी जनजाति समुदायहरूले आफ्ना मौलिक भेषभूषा, सांस्कृतिक झाँकी, बाजागाजा, लोकनृत्य तथा लोकगीतमार्फत सांस्कृतिक विविधताको प्रदर्शन गर्नेछन्। भृकुटीमण्डपबाट सुरु हुने र्याली भद्रकाली, शहीदगेट, सुन्धारा र वीर अस्पताल क्षेत्र हुँदै खुलामञ्चमा पुगेर सभामा परिणत हुनेछ।
महासंघले संविधानले सुनिश्चित गरेका समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर तथा सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै दिवसले ती अधिकार कार्यान्वयनका लागि राज्यको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरेको छ।
मुख्य समारोहको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट हुने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, जनप्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्था तथा आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।
कार्यक्रमस्थलमा विभिन्न जातीय समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री–वितरणको व्यवस्था पनि गरिनेछ। साथै आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परागत ज्ञान, पहिचान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा समसामयिक चुनौतीबारे विज्ञहरूको सहभागितामा प्यानल छलफल आयोजना गरिने महासंघले जनाएको छ।
महासंघका अनुसार विश्वका ४० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्। दिवसलाई केवल एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी सप्ताहव्यापी रूपमा सांस्कृतिक, बौद्धिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
महासंघले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सभ्यता, इतिहास, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षण राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संविधानमा व्यवस्था भएका अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि सरकारसँग पुनः आग्रह गरेको छ। महासंघले विश्व आदिवासी दिवसलाई समावेशी, न्यायपूर्ण र पहिचानमा आधारित नेपालको निर्माणतर्फ राष्ट्रिय प्रतिबद्धता थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरिने जनाएको छ।
