
काठमाडौं, साउन २० -ः काठमाडौँ महानगरपालिकामा पदोन्नति भएका नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नगर प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका रामेश्वर उपाध्यायलाई बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
काठमाडौँ प्लाजामा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तथा नगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले समय अनुकूल वा प्रतिकूल जस्तोसुकै परिस्थिति आए पनि संगठनप्रति समर्पित रहँदै आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले नगर प्रहरी संगठनको प्रभावकारिता, अनुशासन र सेवामुखी भावनालाई थप सुदृढ बनाउन पदोन्नति भएका अधिकृतहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।
डंगोलले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण, महानगरको व्यवस्थापन तथा सुशासन प्रवर्द्धनमा नगर प्रहरीको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा सुशासन समितिका संयोजक तिवारीले पदोन्नतिसँगै जिम्मेवारी पनि थपिने भएकाले नगरवासीप्रतिको दायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
दर्ज्यानी चिन्ह ग्रहणपछि पदोन्नति भएका अधिकृतहरूले संगठनको गरिमा र जनविश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
महानगरपालिकाले नगर प्रहरी संगठनलाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ क्षमता अभिवृद्धि तथा व्यवस्थापन सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
