
ललितपुर, साउन १९ -ः नेपालभाषाको वाङ्गमय क्षेत्रमा चार सयभन्दा बढी पुस्तक प्रकाशन गरी उल्लेखनीय योगदान पुर्याउँदै आएको संस्था कुतः पिकाकले भक्तपुरमा आयोजित विशेष समारोहमा तीन जना स्रष्टालाई ‘हर्ष–कृष्ण लुध्वाखा सिरपा हर्ष–कृष्ण स्वर्णद्वार पुरस्कार’ प्रदान गरेको छ।
३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको ‘लुध्वाखा’ पत्रिकामा प्रकाशित १७२ वटा लघुकथामध्ये उत्कृष्ट कृतिको मूल्याङ्कन गर्दै प्रतियोगितामा सहभागी स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो।
प्रतियोगितामा लघुकथाकार दिव्य गिरि प्रथम हुँदै रु. ५५ हजार नगदसहित सम्मानित भए। त्यस्तै दिव्या ताम्राकार द्वितीय भई रु. ३५ हजार तथा मनदेवी ताम्राकार तृतीय भई रु. २५ हजार नगद पुरस्कार प्राप्त गरे। विजेताहरूले नेपाली र नेपालभाषा दुवै भाषामा साहित्य सिर्जना गर्दै आएका छन्।
कार्यक्रममा आयोजक संस्थाका विमल ताम्राकारले समाजसेवी कृष्णलाल प्रधानका आमाबुवा कृष्णमाया तथा हर्षलालको स्मृतिमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए। उनका अनुसार पुरस्कारले नेपालभाषा साहित्यमा सिर्जनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
लघुकथा प्रतियोगिताका उत्कृष्ट कृति छनोट गर्ने जिम्मेवारी नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले निर्वाह गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै आधुनिक कवि डा. योगेन्द्र प्रधानले नेपालभाषा साहित्यको उदार र समावेशी परम्पराको चर्चा गर्दै नेपालभाषाबाहेक अन्य भाषामा सिर्जना गरिएका उत्कृष्ट लघुकथालाई समेत पुरस्कारको दायरामा समेटिएको उल्लेख गरे। यसले साहित्यिक सहअस्तित्व र बहुभाषिक सिर्जनालाई प्रोत्साहन मिलेको उनको भनाइ थियो।
यसै अवसरमा नेवाः अमेरिकन दबूका संस्थापक अध्यक्ष मनोरञ्जन नारायण धौभडेललाई कुतः पिकाकको संरक्षक सदस्यका रूपमा मनोनयन गरिएको थियो।
कार्यक्रममा साहित्यकार, स्रष्टा, संस्कृति प्रेमी तथा नेपालभाषा साहित्यका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले यस्ता कार्यक्रममार्फत नेपालभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्य रहेको जनाएको छ।
