
काठमाडौं श्रावण १९ -ः ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँचका क्रममा म्याद सकिएको भन्दै नवीकरण गर्न निर्देशन दिएपछि यातायात कार्यालय पुगेका सेवाग्राही सेवा बन्द भएको सूचनापाटी देखेर अन्योलमा परेका छन्।
सडकमा ट्राफिक प्रहरीले लाइसेन्सको म्याद सकिएको भन्दै कारबाही गर्ने र तत्काल नवीकरण गर्न निर्देशन दिने गरेको छ। तर, नवीकरणका लागि यातायात कार्यालय पुग्दा “सेवा अस्थायी रूपमा बन्द छ” भन्ने सूचना टाँसिएको भेटिएपछि सवारी चालकहरू समस्यामा परेका छन्।
एकातिर ट्राफिक प्रहरीको कडाइ र अर्कोतर्फ यातायात कार्यालयको सेवा अवरोधका कारण सेवाग्राहीहरू दोहोरो मारमा परेका छन्। नवीकरण सेवा कहिले सञ्चालन हुन्छ भन्ने स्पष्ट जानकारी नदिइएको भन्दै चालकहरूले सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्।
सवारी चालकहरूको प्रश्न छ, “ट्राफिकले नवीकरण गर्न भन्छ, यातायातले सेवा बन्द छ भन्छ, अब हामी कहाँ जाने ?”
सेवा बन्द हुनुको कारण र नवीकरण प्रक्रिया कहिलेदेखि पुनः सञ्चालन हुन्छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट सूचना सार्वजनिक गर्नुपर्ने माग सेवाग्राहीहरूले गरेका छन्।
