ललितपुर, साउन १८-ः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको पत्रकारिता तथा संस्थागत विकासमा पुर्याएको योगदानबारे विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबजारस्थित ललितपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष अर्जुनबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेपालमा स्वतन्त्र, व्यावसायिक तथा उत्तरदायी पत्रकारिताको जग बसाल्न र नेपाल पत्रकार महासंघलाई सुदृढ संस्थाका रूपमा स्थापित गर्न सत्यनारायण बहादुर श्रेष्ठले खेलेको भूमिका अतुलनीय रहेको बताए। उनीहरूले पत्रकारिताको मर्यादा, निष्पक्षता र लोकतान्त्रिक मूल्य–मान्यतालाई स्थापित गर्न श्रेष्ठले पुर्याएको योगदान भावी पुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सूरजवीर बज्राचार्य, तामाङ पत्रकार संघका अध्यक्ष तथा फोनिज उपत्यका समन्वय समितिका सल्लाहकार नेत्र तामाङ, नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका अध्यक्ष मञ्जु बज्राचार्य, तामाङ पत्रकार संघ ललितपुरका अध्यक्ष प्रकाश थिङ, ताम्रकार समाजका निवर्तमान अध्यक्ष तथा फोनिज उपत्यका समन्वय समितिका सल्लाहकार रविन्द्रराज ताम्रकार तथा कार्यक्रमका सभापति एवं फोनिज उपत्यका समन्वय समितिका अध्यक्ष प्रशान्त मालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उनीहरूले आदिवासी जनजाति समुदायका पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, सञ्चार क्षेत्रमा समावेशी अभ्यासको प्रवर्द्धन तथा पत्रकारितामा एकताको भावना विकास गर्न फोनिजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।
फोनिज उपत्यका समन्वय समितिका उपाध्यक्ष राजुराज बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रविन किरातीले गरेका थिए।
छलफलका क्रममा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्वहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताका पत्रकारलाई जिम्मेवार, उत्तरदायी र व्यावसायिक पत्रकारितातर्फ उन्मुख गराउन आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, आदिवासी जनजाति पत्रकारहरूको हकहित संरक्षण, क्षमता विकास र समावेशी सञ्चार नीतिलाई थप प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको वक्ताहरूले बताएका थिए।
फोनिजले विगत २७ वर्षदेखि आदिवासी जनजाति पत्रकारहरूको पेशागत अधिकार, समावेशी सञ्चार नीति तथा पत्रकारिताको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
