नागबहाल टोलको बुद्ध जयन्ती तथा हिरक जयन्ती कार्यक्रमको समापन भव्य रूपमा सम्पन्न

ललितपुर, साउन १६ -ः ललितपुर महानगरपालिका–१६ स्थित नागबहाल टोलद्वारा आयोजित बुद्ध जयन्ती तथा हिरक जयन्ती कार्यक्रमको समापन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

समापन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर वानियाँले बुद्धका शान्ति, करुणा र अहिंसाका शिक्षालाई आत्मसात गर्दै नेपालको मौलिक संस्कृति, सम्पदा र सभ्यताको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नागबहाल टोलले बुद्ध जयन्ती तथा हिरक जयन्तीजस्ता ऐतिहासिक कार्यक्रममार्फत स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षणमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको मौलिक सम्पदा, संस्कृति र परम्पराको संरक्षण महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्दै स्थानीय समुदायको सक्रिय सहभागिताबाट मात्रै यस्ता सम्पदाको दीगो संरक्षण सम्भव हुने बताए। उनले नागबहाल टोलको सक्रियताप्रति धन्यवाद व्यक्त गर्दै महानगरको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।

ललितपुर महानगरपालिका–१६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य र समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, ज्येष्ठ नागरिक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा शुभकामना आदानप्रदानका साथै बुद्धका शान्ति र सहअस्तित्वका सन्देशलाई समाजमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

नागबहाल टोलले हिरक जयन्तीको अवसरमा विगत ६० वर्षदेखि सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि समुदायको हित, संस्कृति संरक्षण र सामाजिक सद्भावका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

More From Author

थाइल्यान्डमा नेपालको गौरव : न्युजेन स्पोर्ट्स एकेडेमीद्वारा ६ पदक जित्दै ऐतिहासिक सफलता

Leave a Reply

Your email address will not be published. Required fields are marked *