थाइल्यान्डमा नेपालको गौरव : न्युजेन स्पोर्ट्स एकेडेमीद्वारा ६ पदक जित्दै ऐतिहासिक सफलता

Screenshot

ललितपुर, श्रावण १७ -: न्युजेन स्पोर्ट्स एकेडेमीले थाइल्यान्डको पटायामा सम्पन्न नवौं हिरोज इन्टरनेसनल तेक्वान्दो कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ रजत र ३ कास्यसहित कुल ६ पदक जित्न सफल भएको छ।

थाइल्यान्डस्थित इस्टर्न नेसनल स्पोर्ट्स ट्रेनिङ सेन्टरमा आयोजित प्रतियोगिताको पुम्से विधामा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गरेको हो।

१०–१२ वर्ष उमेर समूहको ब्वाइज पुम्सेमा रायन अर्यालले रजत पदक जितेका छन् भने सोही उमेर समूहको गर्ल्सतर्फ ग्रेसलिन थापाले पनि रजत पदक आफ्नो नाममा लेखाएकी छन्। त्यसैगरी, १४–१७ वर्ष उमेर समूहको ब्वाइज पुम्सेमा सम्राट सिंहले रजत पदक जित्दै नेपालको शिर उच्च बनाएका छन्।

यस्तै, १२–१४ वर्ष उमेर समूहको गर्ल्स पुम्सेमा रिया अर्याल, १४–१७ वर्ष उमेर समूहको गर्ल्सतर्फ आयुष्मा चन्द तथा १८–३० वर्ष उमेर समूहको पुरुष पुम्सेमा सुप्रिम गुरुङले कास्य पदक हात पारेका छन्।

न्युजेन स्पोर्ट्स एकेडेमीले प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको पुम्से विधामा प्रतिस्पर्धा गर्न ६ सदस्यीय टोली थाइल्यान्ड पठाएको थियो। प्रतियोगितामा विश्वका ३० राष्ट्रका ५०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली खेलाडीहरूले प्राप्त गरेको यो सफलता नेपाली तेक्वान्दो क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थप सफलता हासिल गर्ने विश्वास बढाएको एकेडेमीले जनाएको छ।

More From Author

ललितपुर महानगरपालिका वडा नं. १६ मंगलबजारस्थित भीमसेन मन्दिरको सत्तल पुनर्निर्माणका लागि सरोकारवालाको संयुक्त बैठक सम्पन्न

नागबहाल टोलको बुद्ध जयन्ती तथा हिरक जयन्ती कार्यक्रमको समापन भव्य रूपमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *