
ललितपुर, श्रावण १५ -ः ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा मंगलबजारस्थित ऐतिहासिक भीमसेन मन्दिरको सत्तल पुनर्निर्माणसम्बन्धी सरोकारवाला गुठीयारहरूको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकले सत्तल पुनर्निर्माणलाई परम्परागत शैली र मौलिक स्वरूपअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

बैठकमा बागमती प्रदेश सरकारबाट सत्तल पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको तथा ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी ५० लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराइएको थियो। उक्त बजेटबाट निर्माण कार्यलाई तीव्रता दिने र ऐतिहासिक सम्पदाको संरक्षणलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
बैठकमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्य, भीमसेन मन्दिर पुनर्निर्माण उपभोक्ता समिति, खलः सत्तल पुनर्निर्माण उपभोक्ता तथा अनुगमन समिति, भीमसेन च्यो खलः गुठीका प्रतिनिधि तथा स्थानीय गुठीयारहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा भीमसेन मन्दिर परिसरभित्र रहेको ऐतिहासिक सत्तलको पुनर्निर्माण कार्यलाई परम्परागत वास्तुकला, सांस्कृतिक मौलिकता तथा स्थानीय पहिचानलाई जोगाउने गरी अगाडि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। निर्माण कार्यमा गुणस्तर, पारदर्शिता र समयसीमालाई विशेष प्राथमिकता दिनुपर्ने विषयमा समेत सहमति भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले भीमसेन मन्दिर र यससँग जोडिएको सत्तल ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग प्रत्यक्ष रूपमा सम्बन्धित सम्पदा भएकाले यसको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सम्पदा संरक्षणका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्यसैगरी वडा अध्यक्ष निर्मल रत्न शाक्यले स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धन महानगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै पुनर्निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिए।
बैठकमा सहभागी गुठीयार तथा स्थानीय प्रतिनिधिहरूले पुनर्निर्माण प्रक्रियामा स्थानीय समुदाय, गुठी तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। साथै, प्राविधिक पक्ष, बजेट व्यवस्थापन तथा अनुगमन प्रणालीलाई सुदृढ बनाएर निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने विषयमा समेत छलफल भएको थियो।
ललितपुरको मंगलबजारस्थित भीमसेन मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा परिचित छ। सत्तल पुनर्निर्माण सम्पन्न भएपछि स्थानीय धार्मिक गतिविधि, जात्रा–पर्व तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा थप सहजता पुग्ने विश्वास गरिएको छ।
