सुशन महर्जनद्वारा ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा

ललितपुर, साउन १४ -ः ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र २४ गते ४७औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले पहिलो उम्मेदवारका रूपमा आफ्नो दाबी सार्वजनिक गरेका हुन्।

लामो समयदेखि संघको गतिविधिमा सक्रिय रहँदै आएका महर्जन हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन्। उनले नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्। वरिष्ठ उपाध्यक्षको हैसियतले अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ।

उम्मेदवारी घोषणा गर्दै महर्जनले संघमा आबद्ध उद्योगी तथा व्यवसायीको विश्वास र साथ आफूले प्राप्त गर्नेमा आशावादी रहेको बताए। निजी क्षेत्रले भोगिरहेका समस्या, चुनौती र व्यवसायिक वातावरण सुधारका विषयलाई संघीय, प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी रूपमा उठाउँदै व्यावहारिक समाधान खोज्न आफू प्रतिबद्ध रहने उनले बताए।

“निजी क्षेत्रको आवाजलाई अझ सशक्त रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउँदै उद्योगी–व्यवसायीको हकहित र व्यवसायिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नेछु,” महर्जनले भने।

व्यवसायिक क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित महर्जन महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन्। साथै उनी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन तथा प्रिकास्ट कन्क्रिट सोलुसन नेपाललगायत विभिन्न व्यावसायिक संस्थामा आबद्ध छन्।

संघको निर्वाचन नजिकिँदै जाँदा महर्जनको उम्मेदवारी घोषणासँगै नेतृत्व चयनको राजनीतिक तथा व्यावसायिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

More From Author

अपकलः (नृसिंह) जात्राको प्रारम्भिक विधि सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *