
ललितपुर, साउन १३ । ललितपुर उपकर्मा गुठीद्वारा सञ्चालन हुँदै आएको ऐतिहासिक अपकलः (नृसिंह) जात्रा अन्तर्गत प्रारम्भिक धार्मिक विधि आज सम्पन्न गरिएको छ।

गुरू पूर्णिमाको पावन अवसरमा पालोवाला श्री भुपतिराजनन्द राजोपाध्यायको अगुवाइमा पाटन दरबारस्थित सुन्दरी चोक (तुसाहिटी) मा रहेको शिलाको खाटमा परम्पराअनुसार फूल अर्पण गर्दै मल्ल राजालाई विधिवत् निमन्त्रणा प्रदान गरिएको हो।

कार्यक्रममा परम्परागत संगीत नाट्य समितिको सांगीतिक प्रस्तुतिले धार्मिक एवं सांस्कृतिक वातावरणलाई थप गरिमामय बनाएको थियो। यो विधिसँगै अपकलः (नृसिंह) जात्राका आगामी धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू औपचारिक रूपमा प्रारम्भ भएका छन्।
