“WE ARE IN LOVE” म्युजिक भिडियो विमोचन कार्यक्रम सम्पन्न

ललितपुर, साउन १३ -ः गायक, संगीतकार तथा कलाकार रामकुमार बालाद्वारा निर्मित “WE ARE IN LOVE” म्युजिक भिडियो एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। कार्यक्रममा कलाकार, साहित्यकार, सांस्कृतिककर्मी, सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति म्युजिक भिडियोका निर्माता एवं कलाकार रामकुमार बालाले नेपाली संगीत क्षेत्रलाई मौलिक सिर्जना र गुणस्तरीय प्रस्तुतिमार्फत अझ समृद्ध बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले प्रेम, विश्वास र मानवीय सम्बन्धको भावलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले “WE ARE IN LOVE” तयार गरिएको बताए। उनले नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्दै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि नेवा: देय दबु केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं संरक्षक पवित्र बज्राचार्यले संगीत समाजलाई जोड्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनाले सकारात्मक भूमिका खेल्ने बताए। उनले नयाँ पुस्ताले आधुनिक प्रविधिसँगै आफ्ना मौलिक मूल्य र सांस्कृतिक पहिचानलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए। कलाकारहरूलाई निरन्तर सिर्जनामा लागिरहन आग्रह गर्दै उनले नेपाली संगीतको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गरे।

त्यसैगरी, अतिथि वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष रमेशमान मुनिकारले नेपाली कला र संगीत विश्व समुदायसम्म पुर्‍याउन यस्ता सिर्जनात्मक प्रयास महत्वपूर्ण हुने बताए। उनले स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध सुदृढ गर्न संगीत प्रभावकारी माध्यम भएको उल्लेख गर्दै युवा कलाकारहरूलाई प्रोत्साहन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा रचनाकार, संगीतकार तथा गायिका फूलमाया महर्जनले सिर्जनात्मक यात्रामा साथ दिने सम्पूर्ण शुभेच्छुक, कलाकार तथा सहयोगीप्रति आभार व्यक्त गर्दै संगीतले मानिसबीच प्रेम, सद्भाव र सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरिन्।

विमोचनसँगै “WE ARE IN LOVE” म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकहरूले भिडियोको कथा, संगीत, प्रस्तुति र छायांकनको प्रशंसा गर्दै यस्ता गुणस्तरीय सिर्जनाले नेपाली संगीत उद्योगलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा सभापति रामकुमार बालाले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, कलाकार, सञ्चारकर्मी तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता व्यक्त गरेका थिए।

More From Author

नेपालको मौलिक पहिचान – मुकुन्डोनाच (ख्वापाः प्याखं)

अपकलः (नृसिंह) जात्राको प्रारम्भिक विधि सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *