नेपालको मौलिक पहिचान – मुकुन्डोनाच (ख्वापाः प्याखं)

सात दशकको नियमित अभ्यास, अध्ययन तथा अनुभवमा आधारित रहेर आज नेवार समुदायका परम्परागत मुकुन्डोनाच ऐतिहासिक ग्रन्थले मूर्त रूप धारण गरेको छ। अध्येयता वीणा जोशी (राजभण्डारी)द्वारा लिखित अनुसन्धानात्मक ग्रन्थ यस युगको कोशेढुङ्गा सावित हुन्छ भन्नेमा म विश्वस्त छु।

उहाँ वीणा म्यामलाई मैले भनेँ, “हिजोसम्म हजुरको मानसपटलमा मात्रै सीमित थियो, आज भौतिक रूपमा प्रकाशित भएसँगै अब हजुर हजार वर्ष बाँच्नु भयो। हजुरको यस कृतिले पछि आउने पिँढीलाई सहज त पार्छ नै। साथै, नेपालका जति पनि मुकुन्डोनाचसम्बन्धी अध्ययन/अध्यापन गर्ने शोधार्थी, विद्यार्थी, शिक्षक तथा नृत्यकार सबै वर्गलाई हित हुनेगरी प्रायः सम्पूर्ण सामग्री एकै ठाउँमा एकै साथ भेटिनेगरी ग्रन्थ तयार गरिदिनु भयो, जुन नेपालकै लागि पनि एउटा गरिमामय विषय बन्न पुगेको छ।”

हजुरलाई कोटि–कोटि साधुवाद तथा नमन।

यस ग्रन्थमा विभिन्न अध्याय समेटेर १७ वटा खण्डको एउटा वृहत् कृति तयार पारिएको छ। जम्मा १,३३८ पृष्ठको यस ग्रन्थको पहिलो खण्डमा मुकुन्डोनाचको ऐतिहासिक परिप्रेक्ष्य, रङ्गभूमि, रङ्गकर्मी, नेपाल उपत्यकामा नृत्यको इतिहास तथा थपिएका आयाम समेटिएका छन्। यसमा मुख्यतः मुकुन्डोनाचमा संलग्न नेवार रङ्गकर्मीहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ।

दोस्रो खण्डमा मुकुन्डोनाच प्रस्तुत गरिने अवसरहरूको चर्चा गरिएको छ। यसमा सौर्यमास तथा चन्द्रमासअनुसारका चाडपर्व, जात्रा तथा गर्भदेखि मरणोपरान्तसम्मका संस्कार र व्यवहारलाई उजागर गरिएको छ।

तेस्रो खण्डमा पात्र परिचय समेटिएको छ। यसमा नासःद्यः (नृत्यनाथ), पूजाविधि, तलेजुभवानीको उपत्यका आगमन र स्थापना, मातृशक्तिका प्रतिनिधि, सगुन, बलि, भोजका परिकार र तिनको सांस्कृतिक अर्थ तथा नाचको मुकुन्डो बनाउने विधिलगायतका विषय समावेश छन्।

चौथो खण्डमा शास्त्रीय नर्तन प्रविधिअन्तर्गत शास्त्रीय नृत्यका मूल प्रविधि, नाट्यशास्त्र, मुकुन्डोनाचको तुलनात्मक अध्ययन, अभिनयदर्पणमा आधारित नृत्य प्रस्तुति, आङ्गिक अभिनय तथा मुकुन्डोनाचमा देखिएका केही प्रयोगबारे चर्चा गरिएको छ।

पाँचौँ खण्डमा चर्यानर्तन पद्धतिअन्तर्गत चर्या (सङ्गीत–नृत्य), धार्मिक क्षेत्रमा यसको विस्तार, चर्यानर्तन पद्धतिमा आधारित दबूनाच, ललितपुरका दबूमा प्रस्तुत गरिने गंप्याखं तथा आधुनिक रङ्गमञ्चमा चर्यानृत्यको विकासक्रमबारे चर्चा गरिएको छ।

छैटौँ खण्डमा कार्तिकनाचसम्बन्धी ललितपुरको कार्तिकनाच, फर्पिङको कार्तिकनाच, दक्षिणकालीनाच, बाह्र वर्षमा हुने दक्षिणकालीनाच, चित्लाङको कार्तिकनाच, तिस्तुङको वज्रवाराहीनाच तथा जात्राबारे जानकारी दिइएको छ।

सातौँ खण्डमा गथुप्याखंको चर्चा गरिएको छ। यसमा काठमाडौं उपत्यकाका पाँच गथुप्याखंको तुलनात्मक अध्ययन, कान्तिपुरका भद्रकालीनाच र पचली भैरवनाच, भक्तपुरको नवदुर्गानाच, थेचोको इन्द्रायणी वा नवदुर्गानाच तथा कीर्तिपुरको इन्द्रायणीनाचबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ।

आठौँ खण्डमा देवीनाचअन्तर्गत किलागलको देवीनाच, साँखुको वज्रयोगिनी, साँगाको देवीनाच, पनौतीको देवीनाच, बनेपाको लोप भइसकेको देवी (कुमारी) नाच, दाप्चाका देवीभैरवनाच तथा नवदुर्गानाच, कीर्तिपुरको देवीनाच, थैबको लोप भइसकेको देवीनाच, टक्सारको वनदेवीनाच, दोलखाको भैरवकुमारीनाच तथा लोप भइसकेको देवीभैरवनाच समेटिएको छ।

नवौँ खण्डमा भक्तपुर र थिमिका महाकालीनाचको संक्षिप्त परिचय, भक्तपुरको महाकालीनाच तथा थिमिका तीन समूहका महाकालीनाचबारे चर्चा गरिएको छ।

दशौँ खण्डमा बोदेय्को नीलबाराहीनाच तथा त्यसको रङ्गशालाको परिचय समावेश गरिएको छ।

एघारौँ खण्डमा पोखराको भैरवनाच, भक्तपुरका भैलप्याखंका तीन समूह, थिमिको भैलप्याखं तथा अर्घाखाँचीको भैरवनाचको विस्तृत विवरण प्रस्तुत गरिएको छ।

बाह्रौँ खण्डमा श्वेतकालीनाचको संक्षिप्त परिचय दिइएको छ।

तेह्रौँ खण्डमा हरसिद्धि वा हरिसिद्धिनाचसम्बन्धी तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ।

चौधौँ खण्डमा सिकालीप्याखं अर्थात् रुद्रायणीनाचको संक्षिप्त परिचय समेटिएको छ।

पन्ध्रौँ खण्डमा हलचोकको आकाशभैरवनाच अर्थात् सवःभकुप्याखंबारे चर्चा गरिएको छ।

सोह्रौँ खण्डमा लाखय् नाचको संक्षिप्त परिचय, मजिपाः लाखय् तथा अन्य लाखय् नाचहरूको चर्चा गरिएको छ।

अन्तिम अर्थात् सत्रौँ खण्डमा भक्तपुरको माकःप्याखं तथा बागलुङ, बेनी र कुस्माका हनुमान् नाचबारे जानकारी समावेश गरिएको छ।

नेपालमा नाच परम्परा, विशेषतः मुकुन्डोनाच अर्थात् भावनृत्य, कहिले र कसरी प्रारम्भ भयो तथा अहिले यसको अवस्था कस्तो छ भन्ने ऐतिहासिक दस्तावेजका रूपमा यो ग्रन्थ हाम्रो हातहातमा आइपुगेको छ।

निश्चय नै, यस ग्रन्थले नेपालको सांस्कृतिक गरिमालाई अझ उचाइमा पुर्‍याएको छ। साथै, ऐतिहासिक, भौगोलिक, समाज–सांस्कृतिक, समाज–राजनीतिक तथा भू–राजनीतिक विषयमा अध्ययन–अनुसन्धान गर्न र गराउन यो ग्रन्थ महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

शोधार्थी, विद्यार्थी, शिक्षक, नृत्यकार तथा नेवार समुदायका परम्परागत नाच र समाजबारे अध्ययन गर्न चाहने सबैका लागि यो ग्रन्थ एकै ठाउँमा समग्र सामग्री उपलब्ध गराउने अनुपम कृति बनेको छ।

सबैको जय् होस्।
जय् नृत्य।
जय् नासःद्यः।

– सुनिता राजभण्डारी जुनु
२०८३ श्रावण १२, मङ्गलवार

More From Author

खिम्ती–घ्वाङ् ९ मेगावाट जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *