खिम्ती–घ्वाङ् ९ मेगावाट जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी

काठमाडौं, श्रावण १२ -ः दोलखा र रामेछाप जिल्लाको सीमाक्षेत्रमा निर्माणाधीन खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजना (९ मेगावाट) का लागि एनएमबी बैंक लिमिटेडले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। यस सम्बन्धमा वन्डर्स ईनर्जी प्रालि. र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एनएमबी बैंक लिमिटेडका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा वन्डर्स ईनर्जी प्रालिका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

वन्डर्स ईनर्जी प्रालिले दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ को सीमाबाट बग्ने खिम्ती–घ्वाङ् खोलामा ९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजना २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति २०८३ साल वैशाख १५ गते मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। साथै आवश्यक सम्पूर्ण निजी जग्गा खरिद, निर्माण पहुँचमार्ग, कन्ट्रक्सन पावर जडान, गोदामघर, आवास गृहलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्।

त्यसैगरी, सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणसम्बन्धी ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। हालसम्म आयोजनाको करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको बताइएको छ।

आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। त्यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋण एनएमबी बैंकबाट प्राप्त हुने भएको हो। बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) मध्ये करिब ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि छिट्टै व्यवस्थापन गरिने कम्पनीले जनाएको छ।

More From Author

यल नेवाः समाजलाई प्रदेश सरकारको साथ नेपालभाषा, संस्कृति र सम्पदा संरक्षणका कार्यक्रमका लागि १ करोड बजेट दिने मुख्यमन्त्रीको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *