यल नेवाः समाजलाई प्रदेश सरकारको साथ नेपालभाषा, संस्कृति र सम्पदा संरक्षणका कार्यक्रमका लागि १ करोड बजेट दिने मुख्यमन्त्रीको घोषणा

ललितपुर, श्रावण १०-ः
ललितपुरका नेवाः समुदायअन्तर्गतका २१ जातीय तथा खलः–पुचलाई एउटै साझा संरचनामा आबद्ध गर्दै आएको यल नेवाः समाजले प्रदेश सरकारबाट महत्वपूर्ण साथ पाउने भएको छ। वाग्मती प्रदेश सरकारले नेपालभाषा, नेवाः संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँसम्म बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

समाजको तेस्रो स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यल नेवाः समाजले भाषा, संस्कृति र सम्पदा संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारको पहलमा समाजको कार्यालय सञ्चालनका लागि ३५ लाख रुपैयाँ विनियोजन भइसकेको जानकारी दिँदै आगामी कार्यक्रम सञ्चालनका लागि थप १ करोड रुपैयाँसम्म बजेट व्यवस्थापन गर्न सकिने घोषणा गर्नुभयो।

मुख्यमन्त्री बानियाँले नेवाः समुदायभित्र रहेका विभिन्न जातीय संगठनलाई साझा छातामुनि ल्याउने प्रयास समयानुकूल र अनुकरणीय भएको उल्लेख गर्दै यस्तो एकताले भाषा, संस्कृति र सम्पदाको संरक्षणलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा बोल्ने अधिकांश वक्ताले नेवाः समुदायको विविधतालाई सम्मान गर्दै साझा एजेन्डामा केन्द्रित हुने संस्थागत संरचनाको आवश्यकता औंल्याए। ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य (आस्था), वाग्मती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, नेवाः देयु दबूकी केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति तथा नेकपा (एमाले) ललितपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले यल नेवाः समाजलाई समुदायको साझा आवाजका रूपमा थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

समाजका अध्यक्ष नानिकाजी शाक्यले नेवाः समुदायभित्रका संगठनहरू आफ्नै जातीय दायरामा सीमित भइरहेका बेला साझा उद्देश्यका लागि सबैलाई एकै मञ्चमा ल्याउने सोचका साथ समाज स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार प्रत्येक जातिको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै नेपालभाषा, नेवाः पहिचान तथा समुदायका साझा अधिकारका विषयमा समन्वयात्मक रूपमा काम गर्नु समाजको प्रमुख उद्देश्य हो।

More From Author

नेवा: पत्रकार राष्ट्रिय डबू भक्तपुरको अध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *