नेवा: पत्रकार राष्ट्रिय डब्बु भक्तपुरको अध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ निर्वाचित

भक्तपुर — नेवा: पत्रकार राष्ट्रिय डब्बु भक्तपुर जिल्ला शाखाको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशनले चन्द्रकृष्ण (गोपाल) श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार मध्यपुर थिमीमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनले उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), देवेन्द्र प्रजापति सचिव, प्रकाश मल्ल कोषाध्यक्ष, सत्यराम कासिच्वा सहसचिव (खुला) र बिमला शाक्य सहसचिव (महिला) चयन गरेको छ।

त्यस्तै, वीरेन्द्र खैजु, उषाकिरण राणा श्रेष्ठ, रवीन्द्र किजु र नेत्रमण कर्माचार्य सदस्यमा निर्वाचित भएका छन्।

अधिवेशनले सर्वसम्मतिले केन्द्रीय पार्षदमा रत्नकाजी प्रजापति, विश्वराम दुवाल, कृष्ण किसी र रामगोपाल तम्खुलाई निर्वाचित गरेको छ। त्यस्तै, श्यामकुमार था, हरिबहादुर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ र राजन गरु सर्वसम्मतिले प्रदेश पार्षदमा निर्वाचित भएका छन्।

यस अवसरमा यस वर्षको ‘हरिलाल-श्री लक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई प्रदान गरिएको थियो। भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण र देशको शिक्षा क्षेत्रमा योगदान पुर्‍याएकोमा किलम्बुलाई यो पुरस्कार प्रदान गरिएको थियो।

प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठले पत्रकार किलम्बुलाई प्रमाणपत्र प्रदान गरे भने वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले १०,००० रुपैयाँ पुरस्कार प्रदान गरे।

राष्ट्रिय समाचार समिति (आरएसएस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना स्वर्गीय आमाबाबुको स्मृतिमा स्थापना गरेको यो पुरस्कार यसअघि पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको थियो। पुरस्कारका संस्थापक श्रेष्ठले पत्रकारिता क्षेत्रमा पत्रकारहरूको योगदानलाई सम्मान गर्ने र पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको बताए।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, नेवा पत्रकार राष्ट्रिय दबुका संस्थापक श्रीकृष्ण महर्जन, केन्द्रीय प्रतिनिधि उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, भक्तपुर शाखाका अध्यक्ष रामगोपाल तम्खु, चाणक्य कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो।

वक्ताहरूले समावेशी पत्रकारिताको विकाससँगै मातृभाषामा पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनीहरूले भाषा, संस्कृति, कला र सम्पदाको संरक्षण र सम्वर्द्धनमा मातृभाषामा पत्रकारिताले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

More From Author

कर नीति व्यवसायमैत्री बनाउन उद्योगी–व्यवसायीको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *