अब एआईको आवाजमै वडा कार्यालयका सेवा र समाधानको जानकारी
ललितपुर साउन ५ -ः ललितपुर महानगरपालिका–३ ले नागरिकलाई वडा कार्यालयका सेवा, सूचना तथा आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ प्रविधिमा आधारित ‘AI कलिङ’ सेवा शुभारम्भ गरेको छ।

वडा अध्यक्ष श्रीगोपाल महर्जनले एक कार्यक्रमबीच उक्त सेवा शुभारम्भ गरेका हुन्। नयाँ आर्थिक वर्षको नयाँ प्रस्तुतिका रूपमा सुरु गरिएको AI Calling सेवामार्फत नागरिकले फोन गरेर आफ्ना समस्या राख्न, विभिन्न प्रश्न सोध्न तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवासम्बन्धी जानकारी एआईको आवाजमार्फत प्राप्त गर्न सक्नेछन्।
“तपाईंको समस्या—कल गर्नुहोस्, समाधान—कल गर्नुहोस्। प्रश्नहरू सोध्नुहोस्, अब एआईको आवाजमै कार्यालयका सेवाहरूको जानकारी लिनुहोस्,” भन्ने अवधारणासहित सेवा सञ्चालनमा ल्याइएको हो।
प्रविधिको प्रयोगमार्फत नागरिक र वडा कार्यालयबीचको सेवा प्रवाहलाई अझ सहज, छिटो र प्रभावकारी बनाउने लक्ष्यसहित AI Calling सेवा सुरु गरिएको वडा कार्यालयले जनाएको छ। नागरिकले कार्यालयमा प्रत्यक्ष उपस्थित नभई फोनमार्फत आफ्ना जिज्ञासा तथा समस्याबारे जानकारी लिन सक्ने भएकाले यस सेवाले सार्वजनिक सेवा प्रवाहमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष महर्जनले बदलिँदो प्रविधिको उपयोग गर्दै नागरिकलाई सहज र आधुनिक सेवा प्रदान गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताए। उनका अनुसार ‘AI कलिङ’ सेवा नागरिकको समस्या सुन्ने, जानकारी दिने र सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउने नयाँ प्रयास हो।
यस सेवामार्फत ललितपुर महानगरपालिका–३ का नागरिकले अब परम्परागत सेवा प्रणालीसँगै कृत्रिम बौद्धिकता (AI) को आवाजमा वडा कार्यालयका सेवा र आवश्यक जानकारी प्राप्त गर्ने सुविधा पाउने भएका छन्।
