
2083 भाद्र ४ सोमबार -ः भारतको कोलकाता बन्दरगाहबाट स्वस्तिक आयल उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ। यससँगै कोलकाता–विराटनगर सिधा रेल कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
पहिलो खेपमा ४० फिट क्षमताका ४० वटा कन्टेनर रेलमार्फत ल्याइएको हो। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म कन्टेनर रेलबाट विराटनगरसम्म ढुवानी गर्न सकिनेछ।
यसअघि वीरगञ्जमा मात्र उपलब्ध रहेको रेल कार्गो सुविधा अब विराटनगरमा पनि विस्तार भएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई कम लागत, छिटो र सुरक्षित ढुवानी सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले बन्दरगाहमा हुने अतिरिक्त शुल्क घटाउनुका साथै नेपाल–भारत व्यापार र आपूर्ति व्यवस्थालाई थप सहज बनाउने विश्वास गरिएको छ।
