कुमार नगरकोटी नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

काठमाडौं, असार ३२ -ः नेपाल सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले देशको प्रतिष्ठित प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार प्रतिष्ठानको उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य–सचिवमा रामलाल जोशी नियुक्त भएका छन्।

त्यसैगरी, प्रतिष्ठानको प्राज्ञ परिषद्का सात सदस्य पनि नियुक्त गरिएको छ। परिषद् सदस्यमा तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमि तथा डा. कृष्णराज सर्वहारी नियुक्त भएका छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली भाषा, साहित्य, संस्कृति तथा मौलिक परम्पराको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन र विकासका लागि स्थापित देशको सर्वोच्च प्राज्ञिक संस्था हो। नयाँ नेतृत्व नियुक्तिसँगै प्रतिष्ठानले भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक अनुसन्धानका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सरकारले विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टा तथा प्राज्ञ व्यक्तित्वलाई नेतृत्वमा ल्याएको भन्दै नयाँ कार्यसमितिबाट नेपाली भाषा, साहित्य, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

नवनियुक्त कुलपति कुमार नगरकोटीको नेतृत्वमा प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, प्रकाशन, साहित्यिक गतिविधि, प्राज्ञिक बहस तथा सांस्कृतिक संरक्षणका कार्यक्रमलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। साथै नयाँ नेतृत्वले प्राज्ञिक संस्थाको गरिमा अभिवृद्धि गर्दै भाषा, साहित्य र संस्कृतिको विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

More From Author

राष्ट्रिय निकुञ्ज र हाइड्रोपावर परियोजनाले आदिवासी जनजातिमाथि गम्भीर असर पारेको आयोगको निष्कर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *