श्रावण महिनाबारे पौराणिक व्याख्या: किन विशेष मानिन्छ श्रावण?

काठमाडौं साउन १ -ः हिन्दु धर्ममा श्रावण महिना भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ। पौराणिक मान्यता अनुसार यसै महिनामा देवता र दानवबीच भएको समुद्र मन्थनबाट अमृतसँगै विनाशकारी हलाहल विष निस्किएको थियो। उक्त विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा पर्ने अवस्था आएपछि भगवान् शिवले संसारको रक्षा गर्न स्वयं विष पान गर्नुभएको थियो। विषको प्रभाव घाँटीमा सीमित हुँदा उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो।

पौराणिक कथाअनुसार विषको ताप कम गर्न भगवान् शिव हिमालयतर्फ प्रस्थान गरी नेपालमा अवस्थित पवित्र गोसाइँकुण्ड क्षेत्रमा विश्राम गर्नुभएको विश्वास गरिन्छ। यही कारण श्रावण महिनाभर भगवान् शिवलाई जल अर्पण गर्ने, बेलपत्र चढाउने र विशेष पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

शिवपुराणमा भगवान् शिवको जटामा स्वयं गङ्गा नदी विराजमान रहेको उल्लेख छ। त्यसैले शिव स्वयं जलका प्रतीक मानिन्छन्। यही धार्मिक विश्वासका आधारमा श्रावण महिनामा शिवलिङ्गमा शुद्ध जल चढाउने परम्परालाई विशेष महत्व दिइन्छ।

यस महिनामा श्रद्धालुहरू पहेँलो वा सुन्तला रङका वस्त्र धारण गरी काँधमा काँवर (खर्पनजस्तै बाँसको संरचना) बोकेर नदी, कुण्ड वा जलाशयबाट जल ल्याउँछन्। धेरै भक्तजन नाङ्गो खुट्टाले लामो पदयात्रा गर्दै शिव मन्दिरमा पुगेर शिवलिङ्गमा जल अर्पण गर्छन्। यसरी श्रद्धापूर्वक जल चढाउँदा भगवान् शिव प्रसन्न भई मनोकामना पूरा गर्ने धार्मिक विश्वास रहेको छ।

नेपालका विभिन्न शिवधामहरूमा श्रावण महिनाभर भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। विशेषगरी धरानको पिण्डेश्वर मन्दिर, काठमाडौंको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिराहाको कमलामाई दोभान लगायतका तीर्थस्थलमा काँवर यात्राको विशेष रौनक देखिन्छ। देशभरका शिवालयहरूमा बिहानैदेखि जलाभिषेक, रुद्राभिषेक, भजन–कीर्तन तथा विशेष पूजाआजाका कार्यक्रम सञ्चालन हुने गरेका छन्।

श्रावण महिना धार्मिक आस्था, संयम, उपवास, शिवभक्ति र आध्यात्मिक साधनाको प्रतीकका रूपमा हिन्दु समाजमा आज पनि विशेष श्रद्धा र भक्तिभावका साथ मनाइँदै आएको छ।

More From Author

कुमार नगरकोटी नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *