
ललितपुर, असार ३१ -ः अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूको संयुक्त बैठकले सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। सम्मेलन सार्क जर्नलिस्ट फोरमको सहकार्य तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा सञ्चालन गरिनेछ।
बैठकमा फोनिजका महासचिव समीर बलामीले सम्मेलनको प्रारम्भिक कार्ययोजना तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार सम्मेलनमा विश्वका करिब ४० देशबाट मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अनुमान गरिएको छ।
सम्मेलन अवधिभर मातृभाषा पत्रकारितासम्बन्धी विभिन्न विषयमा प्यानल छलफल, कार्यपत्र प्रस्तुति, सांस्कृतिक झाँकी प्रदर्शन तथा नेपालको पर्यटकीय तथा सांस्कृतिक सम्पदाको अवलोकन गराइने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य मातृभाषा पत्रकारिताको विकास र व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, सरकारी नीतिमा मातृभाषा पत्रकारिताको महत्व स्थापित गराउनु तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपालको मातृभाषा पत्रकारिताका उपलब्धिहरूको प्रचार–प्रसार गर्नु रहेको छ। साथै भाषा, लिपि, संस्कृति, संस्कार तथा सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई समेत सम्मेलनले प्राथमिकतामा राख्ने जनाइएको छ।
नेवाः पत्रकार राष्ट्रिय दबूको पहलमा पहिलो पटक आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा सार्क जर्नलिस्ट फोरम र फोनिजले सहकार्य गर्नेछन्।
सम्मेलन तयारीसम्बन्धी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेजनारायण महर्जनको सहभागिता रहेको थियो। त्यसैगरी फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव तथा प्रविण किराँतीलगायतको उपस्थिति रहेको थियो।
