ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट पारित, निःशुल्क एम्बुलेन्सदेखि ई–शटल बससम्मका नयाँ कार्यक्रम घोषणा

Screenshot

ललितपुर, असार २९ — ललितपुर महानगरपालिकाले नवौं नगरसभाबाट आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको जनाएको छ। महानगरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी वर्षका प्राथमिकता, चालु आर्थिक वर्षको प्रगति तथा नयाँ योजनाबारे जानकारी दिएको हो।

महानगरका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा असार २५ गतेसम्म कुल खर्च ६८ प्रतिशत, पुँजीगत खर्च ६०.४५ प्रतिशत, भौतिक प्रगति ७५ प्रतिशत, चालु खर्च ८३.२६ प्रतिशत तथा राजस्व संकलन ७५.३१ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणअनुसार बेरुजु ०.४४ प्रतिशत मात्रै रहेको महानगरले जनाएको छ।

संस्थागत कार्यसम्पादनतर्फ महानगरले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्याङ्कन (FRA) मा ९९.५ प्रतिशत तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन मा ७६.३२ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिइएको छ।

महानगरले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा योजना तर्जुमा दिग्दर्शनअनुसार वडा, टोल, स्थानीय क्लब, संघसंस्था, खलःपुचः, जनप्रतिनिधि तथा सरोकारवालासँग व्यापक छलफल गरेर नीति तथा कार्यक्रम तयार गरिएको जनाएको छ। सार्वजनिक सूचनामार्फत नागरिकबाट सुझाव संकलन गरिएको तथा नगरसभाबाट असार ९ गते नीति तथा कार्यक्रम र असार १७ गते बजेट पारित भएको जानकारी दिइयो।

चालु आर्थिक वर्षका ३४ क्षेत्रका ३७८ नीति तथा कार्यक्रममध्ये ८९ प्रतिशत कार्यान्वयन भएको र बाँकी आवश्यक कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको महानगरको भनाइ छ।

स्वास्थ्य र शिक्षामा विशेष प्राथमिकता

महानगरले आगामी भदौ १ गतेदेखि चिकित्सक, औषधि र आवश्यक उपकरणसहित निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। ६८ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई निमोनिया तथा इन्फ्लुएन्जाविरुद्ध निःशुल्क खोप उपलब्ध गराइनेछ भने महिलाका लागि पाठेघरको मुख, स्तन तथा कोलोन क्यान्सरको स्क्रिनिङ सेवा विस्तार गरिनेछ।

‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमअन्तर्गत थेरापी सेवा विस्तार गरी अटिजम तथा अपाङ्गता भएका व्यक्तिलाई समेत समेटिने भएको छ। ई–लाइब्रेरीसहितको शारदा पुस्तकालय पुनः सञ्चालन गरिने तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन सम्झौता गरिने नीति लिइएको छ।

स्मार्ट सिटी अभियानलाई निरन्तरता

महानगरले उज्यालो र सुरक्षित शहर अभियानअन्तर्गत स्मार्ट स्ट्रिट लाइट, हाईमास्ट बत्ती तथा सीसीटीभी जडानलाई विस्तार गर्ने जनाएको छ। नेपालमै पहिलो पटक जडान गरिएको कुपण्डोल–जावलाखेल इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीलाई हरिसिद्धि, बुङ्गमती, सानेपा, सन्तभवन, धोबिघाट र एकान्तकुनासम्म विस्तार गरिनेछ।

पैदल यात्रुको सुरक्षाका लागि Automated Smart Boom प्रणाली लागू गरिनेछ भने कुसुन्तीमा निर्माण सम्पन्न अपाङ्गतामैत्री लिफ्टसहितको आकाशे पुल आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सञ्चालनमा ल्याइनेछ। धोबिघाटमा साइकलसहित आवतजावत गर्न सकिने आकाशे पुल पनि निर्माण गरिनेछ।

पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण प्रक्रिया अघि बढाइने भएको छ भने महानगरको लगानीमा साझा यातायातमार्फत सम्पदा क्षेत्रमा ई–शटल बस सेवा दशैँअघि सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।

सडक, सम्पदा र वातावरणमा लगानी

सडक सञ्जालको Web-based GIS Digital Road Inventory तयार गरिने, युटिलिटी करिडोरको पाइलट परियोजना सुरु गरिने तथा लगनखेल बसपार्कलाई व्यवस्थित र यात्रुमैत्री बनाइने नीति लिइएको छ। पाटन दरबार क्षेत्र र मंगलबजारलाई परीक्षणका रूपमा Vehicle Free Zone घोषणा गरी पैदलयात्री तथा साइकललाई प्राथमिकता दिइनेछ।

सम्पदा संरक्षणतर्फ सप्तपाताल पोखरी आगामी साउनभित्र सर्वसाधारणका लागि खुला गरिनेछ। पलेस्वाँ (तःपुखु), न्हु पुखु, राजकुलो, हिरण्यवर्ण महाविहार, भृङ्गारेश्वर, नरसिंह तथा रुद्रायणी मन्दिरलगायत सम्पदाको संरक्षण तथा पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ।

खानेपानी, विपद् र फोहर व्यवस्थापन

सिस्नेरी खोलाबाट दैनिक १३ करोड लिटर खानेपानी ललितपुर ल्याउने परियोजना सुरु भएको महानगरले जनाएको छ। विभिन्न स्थानमा खानेपानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा मुहान संरक्षणका कार्यक्रम सञ्चालन हुनेछन्।

विपद् व्यवस्थापनतर्फ ‘Patan City Does Not Sleep’ अवधारणाअनुसार विपद् व्यवस्थापन केन्द्र तथा उपकेन्द्र स्थापना गरिने, अर्ली वार्निङ प्रणाली विस्तार गरिने र प्रत्येक वडामा विपद् स्वयंसेवक समूह गठन गरिनेछ।

फोहर व्यवस्थापनमा LMC Garbage Alert App र जीपीएस प्रणाली प्रभावकारी बनाइने तथा घरमै कुहिने र नकुहिने फोहर छुट्याउन अनिवार्य व्यवस्था लागू गरिने महानगरले जनाएको छ।

सूचना प्रविधि, नवप्रवर्तन र हरित अभियान

महानगरले ललितपुरलाई आईटी हब (Silicon Valley) का रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। स्टार्टअप, नवप्रवर्तन, सीप हस्तान्तरण, सरल बीउपूँजी, ई–गभर्नेन्स, अनलाइन राजस्व संकलन, भवन अभिलेखीकरण, एनिमल एप, विषादी परीक्षण, पोर्टेबल कोल्ड चेम्बर, ग्राउन्ड वाटर रिचार्ज अभियान तथा ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला निषेध गर्ने कार्यक्रम पनि आगामी वर्ष लागू गरिनेछ।

बजेटको क्षेत्रगत प्राथमिकता

महानगरले पुँजीगत खर्चको ६६ प्रतिशत पूर्वाधार विकास, २० प्रतिशत सामाजिक विकास, ६ प्रतिशत आर्थिक विकास, ५ प्रतिशत विपद् व्यवस्थापन तथा ३ प्रतिशत सुशासन र अन्य क्षेत्रमा विनियोजन गरेको जनाएको छ।

कुल बजेटमध्ये ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत) पुँजीगत, १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) प्रशासनिक तथा १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) सामाजिक सुरक्षा र सशर्त अनुदानका लागि विनियोजन गरिएको छ।

करदाताका लागि विभिन्न छुट

आर्थिक ऐन २०८३ अनुसार असोज मसान्तभित्र सम्पत्ति कर तथा भूमिकर बुझाउनेलाई १० प्रतिशत छुट, व्यवसाय नवीकरणमा समयमै शुल्क बुझाए २५ प्रतिशत छुट, सम्पत्ति कर तिरेपछि सिफारिस दस्तुरमा १५ प्रतिशत छुट, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट र विद्युतीय सवारी प्रयोगकर्तालाई सम्पत्ति करमा १ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको महानगरले जनाएको छ।

महानगरले आगामी साउन ७ गतेभित्र नीति तथा कार्यक्रम तथा बजेट पुस्तिका प्रकाशित गरी कार्यान्वयन कार्ययोजना र खरिद योजना समेत सार्वजनिक गर्ने जनाएको छ।

More From Author

पलाःया ग्वासालय जुगु चाःया थीथी हलज्वलँ दयेकेगु तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts