नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवा सम्झौता

ललितपुर, असार २८ -ः नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी)बीच सदस्य, कर्मचारी तथा उनीहरूका आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

भैंसेपाटीस्थित अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल परिसरमा आइतबार सम्पन्न कार्यक्रममा दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताले निजी क्षेत्रका व्यवसायी, कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सम्झौताअनुसार ललितपुर चेम्बर अफ कमर्सका कर्मचारी, सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित—पति/पत्नी, आमाबाबु तथा २२ वर्षमुनिका दुई सन्तान—ले नेपाल मेडिसिटीमा उपचार गराउँदा अस्पतालको इनपेशेन्ट तथा आउटपेशेन्ट सेवाको बिलमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। औषधि, उपभोग्य सामग्री, प्रत्यारोपण, स्वास्थ्य प्याकेज तथा आउटसोर्स गरिएको परीक्षणमा भने छुट लागू हुने छैन। साथै, बीमा कम्पनीमार्फत नगदरहित (क्यासलेस) सेवा प्राप्त गरेको अवस्थामा उक्त छुट सुविधा लागू नहुने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार नेपाल मेडिसिटीले एलसीसीका सदस्य तथा कर्मचारीलाई स्वीकृत मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, अस्पतालका सम्बन्धित विभागलाई सम्झौताबारे जानकारी गराउने तथा सेवाग्राहीको गोपनीयता पूर्ण रूपमा कायम राख्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, ललितपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा कर्मचारीलाई उपलब्ध स्वास्थ्य सुविधाबारे इमेल, समूह च्याटलगायत आन्तरिक सञ्चार माध्यममार्फत नियमित जानकारी गराउनेछ।

सेवा प्राप्त गर्ने लाभग्राहीको पहिचान एलसीसीले जारी गरेको फोटो परिचयपत्र वा आधिकारिक इमेल प्रमाणीकरणका आधारमा गरिनेछ। परिचयपत्र नभएका प्रत्यक्ष आश्रितका हकमा भने एलसीसीबाट औपचारिक प्रमाणीकरण भएपछि मात्र सहुलियत सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

भुक्तानी सम्बन्धी व्यवस्थाअनुसार अस्पतालले सम्बन्धित कर्मचारी वा सदस्यको नाममा कर बिजक जारी गर्नेछ। अस्पतालको सेवाशुल्क सम्बन्धित सेवाग्राही वा उनका आश्रितले अस्पतालको प्रचलित नीतिअनुसार भुक्तानी गर्नुपर्नेछ। चिकित्सा बीमाको सुविधा भएका सदस्यका लागि नेपाल मेडिसिटीले सम्बन्धित बीमा कम्पनीसँग समन्वय गरी नगदरहित उपचार सेवा उपलब्ध गराउने सम्भावना अध्ययन गर्नेछ। बीमा कम्पनीबाट वैध ‘ग्यारेन्टी अफ पेमेन्ट (GOP)’ प्राप्त भएपछि त्यस्ता सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, बीमासम्बन्धी समन्वयका लागि अस्पतालले छुट्टै सम्पर्क व्यक्ति (पीओसी) समेत तोक्नेछ।

सम्झौतामा दुवै संस्थाले समन्वयका लागि आधिकारिक सम्पर्क व्यक्ति (POC) नियुक्त गर्ने, प्राप्त हुने सूचना तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्ने तथा कानुनले माग गरेबाहेक कुनै पनि विवरण तेस्रो पक्षलाई सार्वजनिक नगर्ने सहमति गरेका छन्।

दुई वर्षका लागि लागू हुने उक्त सम्झौता दुवै पक्षको पारस्परिक सहमतिमा नवीकरण गर्न सकिनेछ। कुनै पनि पक्षले कम्तीमा १५ दिनअघि लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ। सम्झौतामा आवश्यक संशोधन वा परिमार्जन भने दुवै पक्षको लिखित सहमतिमा मात्र गर्न सकिने उल्लेख गरिएको छ।

नेपाल मेडिसिटीले ‘प्रगतिमा साझेदार, एक स्वस्थ र समृद्ध राष्ट्रका लागि’ भन्ने नारासहित निजी क्षेत्रसँगको सहकार्यलाई विस्तार गर्दै स्वास्थ्य सेवा थप पहुँचयोग्य बनाउने उद्देश्य राखेको जनाएको छ भने ललितपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षा र कल्याणका लागि यो सम्झौता महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ।

More From Author

डाक्टर तोसिमा कार्की: “मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न लेखापढी व्यवसायीले भूमिका खेल्नुपर्छ” ललितपुर, असार २७ — ः प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्यका लागि लेखापढी व्यवसायीहरूले सकारात्मक र जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ।

डाक्टर तोसिमा कार्की: “मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न लेखापढी व्यवसायीले भूमिका खेल्नुपर्छ” ललितपुर, असार २७ — ः प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्यका लागि लेखापढी व्यवसायीहरूले सकारात्मक र जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts