डाक्टर तोसिमा कार्की: “मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न लेखापढी व्यवसायीले भूमिका खेल्नुपर्छ” ललितपुर, असार २७ — ः प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्यका लागि लेखापढी व्यवसायीहरूले सकारात्मक र जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
डाक्टर तोसिमा कार्की: “मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न लेखापढी व्यवसायीले भूमिका खेल्नुपर्छ” ललितपुर, असार २७ — ः प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्यका लागि लेखापढी व्यवसायीहरूले सकारात्मक र जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
नेपाल लेखापढी व्यवसायी एशोसियसन, बागमती यातायात इकाई समितिको शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै सांसद कार्कीले लेखापढी व्यवसायीलाई बिचौलियाको रूपमा चित्रित गरेर बदनाम गर्नु उचित नहुने बताउनुभयो।
उहाँले लेखापढी व्यवसाय आमनागरिकको सम्पत्ति, कानुनी प्रक्रिया र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील पेशा भएकाले जिम्मेवारीसँगै आउने जोखिमलाई पनि बुझेर इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।
“मालपोत र यातायात कार्यालयप्रति जनगुनासो धेरै आउने गर्छ। ती गुनासोको सम्बोधन हुनुपर्छ। गलत गर्नेहरू उम्किनु हुँदैन, राम्रो काम गर्नेहरू फस्नु हुँदैन। जनता र सरकारबीच सहकार्य आवश्यक छ र तपाईंहरूको समस्या समाधानका लागि हामी गम्भीर छौं,” उहाँले भन्नुभयो।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले सुशासन र विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विगतका कमजोरीबाट पाठ सिकेर सुधारतर्फ अघि बढ्नुपर्ने बताउँदै नेपालमा केही पनि नभएको भन्ने नकारात्मक भाष्य निर्माण गर्नु उचित नहुने धारणा राख्नुभयो।
“विगतमा सुशासन कायम गर्न कमजोरी भएका थिए। अहिलेको सरकारले त्यसलाई सुधार्नुपर्छ। तर विगतमा केही पनि भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्नु उचित होइन,” उहाँले भन्नुभयो।
महर्जनले बागमती प्रदेश सरकारले यातायात नियमावली संशोधनको तयारी गरिरहेको जानकारी दिँदै अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाइने बताउनुभयो।
नेपाल लेखापढी व्यवसायी एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले सरकारले लेखापढी व्यवसायीलाई सम्मानजनक वातावरणमा काम गर्ने अवसर नदिएको गुनासो गर्नुभयो। राज्यले आफ्नै कानुनअनुसार काम गर्ने व्यवसायीलाई असुरक्षित र त्रसित बनाएको आरोप लगाउँदै उहाँले कर्मचारी संयन्त्रमा सुधार नगरी भ्रष्टाचार नियन्त्रण सम्भव नहुने बताउनुभयो।
“हिजोको सरकारले गरेको गल्ती अहिलेको सरकारले पनि दोहोर्यायो भने न्याय कहाँबाट पाउने? भ्रष्टाचार शून्य बनाउन कर्मचारी संयन्त्र पनि सुधारिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले सर्वोच्च अदालत र जिल्ला अदालतबाट स्वीकृत नियम तथा नियमावलीको समेत सम्मान नगरी राज्यले लेखापढी व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना गरेको आरोप लगाउनुभयो।
कार्यक्रममा एशोसियसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेलले व्यवसायीमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाउँदै त्यसले व्यवसायीलाई आतंकित बनाएको बताउनुभयो।
ललितपुर जिल्ला अदालतका श्रेस्तेदार शैलेश खतिवडाले लेखापढी व्यवसायसम्बन्धी नियमावली सर्वोच्च अदालतबाट स्वीकृत भइसकेको उल्लेख गर्दै जिल्ला अदालतले व्यवसायलाई व्यवस्थित र व्यवसायीको संरक्षण गर्ने दिशामा काम गरिरहेको बताउनुभयो।
केन्द्रीय सदस्य रोमप्रसाद हुमागाईंले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका कार्यालयमा जिल्ला अदालतबाट प्रमाणित लेखापढी व्यवसायीहरूले कानुनी रूपमा सेवा दिँदै आएको उल्लेख गर्दै पेशा सञ्चालनकै आधारमा राज्यले धरपकड गर्नु अनुचित हुने धारणा राख्नुभयो।
पाटन इकाईका अध्यक्ष दीपक के.सी.ले आफू २०५३ सालदेखि लेखापढी पेशामा सक्रिय रहेको जानकारी दिँदै सरकारले पेशाकर्मी तथा सर्वसाधारण नागरिकप्रति अनुदार र कठोर व्यवहार गर्न नहुने बताउनुभयो। उहाँले व्यवसाय निर्वाध रूपमा सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभयो।
बागमती यातायात इकाई समितिका सहसचिव मदनकुमार लामाले एशोसियसनले व्यवसायीहरूको पेशागत हकहित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अधिवेशनबाट सक्षम र सबल नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा लेखापढी व्यवसायीहरूको पेशागत सुरक्षा, सेवा प्रवाहमा पारदर्शिता, सुशासन, कानुनी संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा समेत व्यापक छलफल भएको थियो।