अटिजम केयर नेपाल सोसाइटीलाई ललितपुर महानगरपालिकाद्वारा सवारी साधन हस्तान्तरण

ललितपुर १८ । विशेष आवश्यकता भएका अटिजम भएका बालबालिका तथा व्यक्तिहरूलाई प्रदान गरिने सेवा थप प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले अटिजम केयर नेपाल सोसाइटीलाई सवारी साधन हस्तान्तरण गरेको छ।

ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा महानगरपालिकाका प्रवक्ता राजु महर्जनले संयुक्त रूपमा अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यलाई सवारी साधनको चाबी हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चिरीबाबु महर्जनले समावेशी विकासको अवधारणाअनुसार विशेष आवश्यकता भएका नागरिकहरूको जीवन सहज र सम्मानजनक बनाउन महानगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो। अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, थेरापी तथा पुनर्स्थापना सेवामा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले महानगरपालिकाले आगामी दिनमा पनि यस्ता सामाजिक संस्थाहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकले भोग्दै आएका दैनिक चुनौतीलाई न्यूनीकरण गर्न सवारी साधनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, समावेशी शिक्षा तथा सामाजिक सहभागिता अभिवृद्धिका लागि महानगरपालिका विभिन्न कार्यक्रममार्फत सक्रिय रहेको उल्लेख गर्नुभयो।

प्रवक्ता राजु महर्जनले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र सेवा पहुँच विस्तारमा प्राथमिकता दिइरहेको बताउनुभयो। उहाँले सरकारी निकाय र सामाजिक संस्थाबीचको सहकार्यले समावेशी समाज निर्माणमा थप टेवा पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा कार्यपालिका सदस्य उमा बज्राचार्यलक्ष्मी शर्मा, जिन्सी शाखा प्रमुख सागर थापा, सामुदायिक विकास शाखाअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता महर्जन, अपाङ्गता समन्वय समितिका सदस्यहरू, महानगरपालिकाका कर्मचारी, अटिजम केयर नेपाल सोसाइटीका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सवारी साधन ग्रहण गर्दै अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यले ललितपुर महानगरपालिकाप्रति आभार व्यक्त गर्दै प्राप्त सवारी साधनले अटिजम भएका बालबालिकाको थेरापी, विद्यालय आवतजावत, समुदायमा आधारित पुनर्स्थापना सेवा तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले महानगरपालिकाको सहयोगले संस्थाको सेवा अझ प्रभावकारी र विस्तारित हुने विश्वास व्यक्त गर्नुभयो।

More From Author

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखा विघटन गरि नयाँ समिति बनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *