
काठमाडौं, असार १९ — राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। असार १९ देखि २१ गतेसम्म थापाथलीस्थित द ब्रिटिस कलेजमा सञ्चालन हुने तालिममा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको छ।

आयोजक संस्थाका संयोजक तथा महासचिव घनश्याम श्रेष्ठका अनुसार तालिमको मुख्य उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार फोटोको गुणस्तर सुधार गर्नु तथा फोटो क्याप्सन लेखन, फोटो सम्पादन र दृश्य कथनसम्बन्धी ज्ञान तथा सीप विकास गर्नु हो। साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको उनले बताए।
तालिम अवधिभर फोटोपत्रकारिताको परिचय र विकास, समाचार मूल्य र फोटो छनोट, प्रभावकारी फोटो क्याप्सन लेखन, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ), फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फोटोपत्रकारिताको आचारसंहिता तथा नैतिकता, फिल्ड अभ्यास र फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त तथा संस्थाका अन्य पदाधिकारीहरूले प्रशिक्षण तथा सहजीकरण गरिरहेका छन्। तालिममा सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास, समूह छलफल र फिल्ड फोटोग्राफी अभ्यासमा सक्रिय सहभागिता जनाइरहेका छन्। अन्तिम दिन सहभागीहरूले खिचेका समाचार तस्बिरहरूको समीक्षा, मूल्याङ्कन तथा सुझाव आदानप्रदान गरिने कार्यक्रम रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधि र प्रतिस्पर्धात्मक पत्रकारिताको परिवेशमा फोटोपत्रकारहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गरे। उनले यस्ता तालिमले नेपाली फोटोपत्रकारिताको व्यावसायिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।
आयोजक संस्थाका कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ले तालिमले सहभागीहरूको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भविष्यमा अझ व्यापक सहभागितासहित यस्ता तालिम तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको योजना रहेको जानकारी दिए।
तालिम सफलतापूर्वक सञ्चालनका लागि सहयोग पुर्याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आभार व्यक्त गरेको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली फोटोपत्रकारितालाई अझ जिम्मेवार, व्यावसायिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
