काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीहरूको परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार यस वर्ष कुल ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।


बोर्डका अनुसार परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्। नियमित तथा आंशिक दुवै समूहलाई समेट्दा सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० पुगेको छ।
नियमिततर्फ २ लाख ३१ हजार ७७० जना र आंशिकतर्फ ३६ हजार ४२० जना परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। नियमिततर्फ उत्तीर्ण प्रतिशत ६९.७५ रहेको छ भने आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना तथा २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना रहेका छन्।
त्यसैगरी २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ हजार ३०८ रहेको छ भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ जना रहेको बोर्डले जनाएको छ।
