
ललितपुर, असार ५ — पद्मवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नबहाल ललितपुरको आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्धारण गरेका मापदण्ड, सहकारीको वर्तमान अवस्था तथा साना घरेलु उद्योग सञ्चालनका लागि लघु ऋण सेवा सञ्चालन सम्बन्धी अन्तरक्रिया सहितको सदस्य भेला सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष नेमविर शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, सदस्यहरूको भूमिका, वित्तीय अनुशासन तथा सहकारीमार्फत आर्थिक आत्मनिर्भरताको विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले सहकारी संस्था केवल बचत र ऋणको माध्यम मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा उद्यमशील विकासको महत्वपूर्ण आधार भएको बताए। उनले सहकारी ऐन, नियमावली तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेका मापदण्डको पूर्ण पालना गर्दै संस्थालाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष शाक्यले पछिल्लो समय सहकारी क्षेत्रप्रति देखिएको चुनौती र जनविश्वासको विषयलाई गम्भीरतापूर्वक लिँदै पद्मवती सहकारीले सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिए। उनले सदस्यहरूको सक्रिय सहभागिता र विश्वास नै संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै सहकारीको दिगो विकासका लागि सबै सदस्य एकताबद्ध हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका पदाधिकारी तथा व्यवस्थापन पक्षले सहकारीको वर्तमान वित्तीय अवस्था, बचत तथा ऋण परिचालन, सदस्य सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराएका थिए। संस्थाले सदस्यहरूको आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र विशेष गरी साना तथा घरेलु उद्योग सञ्चालन गर्न इच्छुक सदस्यहरूलाई लक्षित गरी लघु ऋण सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जानकारी दिइयो।
अन्तरक्रियाका क्रममा सहभागी सदस्यहरूले सहकारी क्षेत्रका समसामयिक विषय, ऋण प्रवाह प्रक्रिया, उद्यम विकासका अवसर तथा सदस्य सेवासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। सहभागीहरूको प्रश्नको जवाफ दिँदै सहकारीका प्रतिनिधिहरूले नियामक निकायका मापदण्डअनुसार सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताएका थिए।

सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी बढाई स्वरोजगार सिर्जना, महिला तथा युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन लघु ऋण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा ठूलो संख्यामा सदस्यहरूको सहभागिता रहेको थियो। सदस्य भेलाले सहकारीको संस्थागत सुदृढीकरण, सदस्य हित संरक्षण तथा आर्थिक समृद्धिका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
