ललितपुर, यल नेवाः समाज ललितपुरको आयोजनामा पाटनको ऐतिहासिक मंगलबजारमा सम्पन्न दुईदिने नेवाः महोत्सवले नेवार समुदायको भाषा, कला, संस्कृति तथा मौलिक पहिचानलाई उजागर गरेको छ।

विश्वभर छरिएका नेवार समुदायबीच भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा पाटनका विभिन्न जातीय खलकहरूले आफ्ना परम्परागत सीप र पहिचान प्रस्तुत गरेका थिए। महोत्सवमा हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्तरकला लगायतका कलासँगै मौलिक नेवारी परिकार तथा सांस्कृतिक सम्पदाको प्रदर्शनी गरिएको थियो।
यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले महोत्सव कुनै व्यापारिक मेला नभई पाटनका जातीय समाजहरूको पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप, कला र संस्कृतिको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार पाटनमा रहेका २१ वटा जातीय समाजको पहिचान र योगदानलाई एकै स्थानमा प्रस्तुत गर्ने प्रयासस्वरूप महोत्सव सञ्चालन गरिएको हो।
महोत्सवका अवसरमा बागमती प्रदेश सरकारले प्रदान गरेका आदिवासी जनजातिसम्बन्धी अधिकारका विषयमा गोष्ठी सञ्चालन गरिएको थियो भने नेवाः लिपिको इतिहास, महत्त्व र संरक्षणबारे जानकारीमूलक कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।
ललितपुर महानगरपालिका वडा नं. १६ को प्रायोजनमा सम्पन्न महोत्सवको समापन समारोहमा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। समापन समारोहमा ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सहयोगी हातहरूलाई खादा ओढाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको कदर गर्नुभएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परागत ज्ञानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
