काठमाडौं, । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले विश्वभर छरिएर रहेका नेवार पत्रकार तथा सञ्चारकर्मीलाई संस्थागत रूपमा एकताबद्ध गर्ने उद्देश्यले १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ।

दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार संस्थाको हाल २९ वटा जिल्ला शाखा सक्रिय रहेका छन्। विदेशमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग आबद्ध गराई संगठनलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्यका साथ विदेश शाखा विस्तार अभियान अघि बढाइएको हो।
यस अभियानअन्तर्गत जापानका लागि चन्द्रमान महर्जन, अमेरिकाका लागि अनिल रञ्जित, नेदरल्याण्ड्सका लागि आशिष राजभण्डारी, अष्ट्रेलियाका लागि डा. राजु मानन्धर, संयुक्त अरब इमिरेट्स (यूएई) का लागि सचिन्द्र श्रेष्ठ, पोल्याण्डका लागि अभिनाश डंगोल, क्यानाडाका लागि शिव कारञ्जित, पोर्चुगलका लागि राजेशमान जोशी, नर्वेका लागि नयन मल्ल तथा जर्मनीका लागि कुमार नापितलाई विदेश शाखा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
नेपाल संवत् ११३२ मा स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले आगामी भदौ १९ र २० गते गोरखाको भिमसेन थापा गाउँपालिकास्थित नमुना बस्तीमा पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १५औँ साधारणसभा आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार तथा जिल्ला अधिवेशनको प्रक्रिया पनि तीव्र पारिएको छ। हालसम्म गोरखा जिल्ला शाखाले आफ्नो अधिवेशन सम्पन्न गरिसकेको छ भने काभ्रे जिल्ला शाखाको अधिवेशन जेठ ३१ गते सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी ललितपुर, भक्तपुर र धादिङ जिल्ला शाखाले असारको पहिलो साता अधिवेशन गर्ने तयारी गरेका छन्। चितवन, मकवानपुर, सुनसरी, अर्घाखाँची, दोलखा, सुर्खेत र कास्की लगायतका जिल्ला शाखाहरूले समेत अधिवेशनको तयारी सुरु गरिसकेको संस्थाले जनाएको छ।
संस्थाले देशभित्रका शाखासँगै विदेशमा रहेका पत्रकारहरूलाई पनि संगठित गर्दै व्यावसायिक पत्रकारिता, भाषा, संस्कृति तथा नेवा समुदायका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ। आगामी महाधिवेशनले संगठनलाई अझ सुदृढ र विस्तारमुखी बनाउने विश्वास व्यक्त गरिएको छ।
