
ललितपुर — ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा “गौरवशाली महिला सम्मान कार्यक्रम” सम्पन्न भएको छ। वडा नं. १६ महिला कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्नुका साथै सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका ४५ वर्षभन्दा माथिका २१ जना महिलालाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष निर्मल रत्न शाक्य ले समाज निर्माणमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले प्रेरणा र हौसला थप्ने बताए। उनले महिलाहरूको सक्रिय सहभागिताले मात्र समावेशी र समुन्नत समाज निर्माण सम्भव हुने धारणा राखे।

कार्यक्रम संयोजक बबिता श्रेष्ठ ले सम्मानित महिलाहरूले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्। उनले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महिलाहरूको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

सम्मान कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, सांस्कृतिक संरक्षण लगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

वडा नं. १६ ले यस्ता कार्यक्रममार्फत समाजमा योगदान पुर्याउने व्यक्तित्वहरूको पहिचान र सम्मान गर्दै सामुदायिक एकता तथा प्रेरणाको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।
