ललितपुर, पुल्चोक — जोशी रिसर्च इन्स्टिच्युटद्वारा प्रदान गरिने यस वर्षको हरिराम जोशी संस्कृति पुरस्कार इन्जिनियर बदललाल न्याछ्यो र कदम पुरस्कार संस्कृतिविद् वीणा जोशीलाई प्रदान गरिएको छ। सोमबार पुल्चोकमा आयोजित एक विशेष समारोहका बीच दुवै व्यक्तित्वलाई सम्मान गरिएको हो।

संस्कृति शिरोमणि हरिराम जोशीद्वारा स्थापित इन्स्टिच्युटले संस्कृति, भाषा र सम्पदाको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै न्याछ्यो र जोशीलाई पुरस्कृत गरेको जनाएको छ। संस्कृतिविद् समेत रहेका न्याछ्योले ज्याःपुन्हि (जेष्ठ पूर्णिमा) लाई राष्ट्रिय संगीत दिवसका रूपमा सरकारी मान्यता दिलाउन पहल गरिरहेका छन्। साथै, राजा सिद्धिनरसिंह मल्लका ३६ वटा गीतलाई युनेस्को सूचीमा समावेश गर्न प्रक्रिया अघि बढाइरहेको योगदानलाई समेत सम्मान गरिएको हो। उनकै नेतृत्वमा संगीत दिवस जनस्तरमा मनाउने अभियान सुरु भएको बताइएको छ।
त्यस्तै, वीणा जोशीले नेपालका परम्परागत तथा धार्मिक नृत्यसम्बन्धी ४० वर्ष लामो अध्ययनपछि नेवाः समुदायको मुकुन्डो नाचबारे पुस्तक लेख्नुभएको योगदानको कदरस्वरूप कदम पुरस्कार प्रदान गरिएको हो।

समारोहमा ललितपुर क्षेत्र नं. ३ की संघीय सांसद् डा. तोसिमा कार्कीले पुरस्कृत व्यक्तित्वलाई माला लगाएर सम्मान गरिन् भने प्रा. डा. केदारभक्त माथेमाले प्रमाणपत्र प्रदान गरे। दुवै पुरस्कारको नगद राशि ५० हजार रुपैयाँ रहेको छ।
कार्यक्रममा हरिराम जोशीले साहित्य र संस्कृतिका साधकहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रको सभ्यता जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए। भाषा र संस्कृति राष्ट्रिय पहिचानका आधार मात्र नभई सृजनशीलताको प्रेरणा भएको उनको भनाइ थियो।

प्रा. डा. माथेमाले संस्कृति तथा सम्पदाको गहिरो अध्ययन गर्ने नयाँ पुस्ता तयार गर्न आवश्यक रहेको औंल्याउँदै यसमा सरकारका सबै तह र सम्बन्धित क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिए। उनले नेपालमण्डलको सभ्यताबारे विगतमा भएका अध्ययनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अहिलेको पुस्तालाई त्यस्ता अनुसन्धानमा प्रेरित गर्नुपर्ने बताए।
त्यसैगरी, संस्कृतिविद् डा. वीणा पौड्यालले संस्कृति र सम्पदाको संरक्षणका लागि अनुसन्धान अपरिहार्य रहेको बताइन्। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हरिराम जोशीलाई संस्कृतिको “विश्वकोष” का रूपमा चित्रण गर्दै उहाँबाट प्रेरित भएर नगरले संस्कृति तथा सम्पदाको क्षेत्रमा काम गरिरहेको बताए।
इन्स्टिच्युटका सुशीलराम जोशीका अनुसार विगत पाँच वर्षदेखि निरन्तर प्रदान गरिँदै आएको यो पुरस्कारले संस्कृतिका साधकहरूलाई अनुसन्धानतर्फ थप प्रेरित गर्ने विश्वास गरिएको छ।
